विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भनिएका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका छन् ।
कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै कारवाही र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा सोही दिन निवेदन दिएपछि सुरक्षाकर्मी पाएका हुन् ।
सचिव भट्टराईको निवेदन प्राप्त भएपछि उनको सुरक्षाका लागि सोही दिनदेखि हतियारसहित एक जना सुरक्षाकर्मी (पीएसओ) खटिएको जनाइएको छ । सचिव भट्टराईले आफ्नो सुरक्षाका लागि सोमबार बेलुकादेखि नै एकजना पीएसओ खटिएर आएको बताए । उनले कार्कीलाई कारवाहीको पनि माग गरिएको भएपनि त्यसबारे कुनै पनि जानकारी नआएको बताए ।
‘कारवाहीबारे केही जानकारी आएको छैन, अस्ती(सोमबार)को दिन बेलुकादेखि एकजना पीएसओ पठाइएको छ’ सचिव भट्टराईले भने, ‘निवेदन दिएपछि ‘सीडीओ साब’ले मान्छे पठाइदिन्छौं भन्नुभएको थियो, मान्छे हतियारसहितको छ ।’
आफूमाथि भएको धम्कीको घटनाबारे कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मालाई समेत जानकारी गराइएको र शर्माले सबै कुरा ‘सीडीओ साब’ले गर्ने हो भनेको भट्टराईले बताए ।
पूर्वमुख्यमन्त्री कार्कीले विराट गोल्डकपका लागि आफूले दिने घोषणा गरेको २५ लाख रुपैयाँ सचिव भट्टराईले नै भुक्तानीको प्रक्रिया रोकिदिएको बताउँदै आएका छन् । सचिव भट्टराईलाई धम्की दिएको विषय बाहिरिएपछि बचाउका लागि पूर्वमुख्यमन्त्री कार्कीको सचिवालयले निकालेको विज्ञप्तिमा भने सचिव भट्टराईले आफ्नो नाममा समेत सेवाग्राहीबाट कमिशन माग्ने गरेको आरोप लगाएका थिए ।
भट्टराईले भने आफ्नो संलग्नता नै नभएको विषयमा आरोप लगाएर पूर्वमुख्यमन्त्री कार्कीले गालीगलौज र भौतिक आक्रमणको धम्की दिएको दाबी गरेका थिए । उनले विराट गोल्डकपको विषयलाई लिएर कार्कीले ‘मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, म पनि तँलाई मन्त्रालयमा आएर कुटछु, शौचालयमा थुन्छु’ भन्दै धम्क्याएको आरोप लगाएका छन् ।
धम्कीका कारण मन्त्रालयमा बसेर कामकाज गर्न नसक्ने अवस्था भएको भन्दै उनले आफ्नो जिउ ज्यानको सुरक्षा र फोनमार्फत गालिगलौज र कुटपिट गर्ने धम्की दिने कार्कीलाई प्रचलित कानुनबमोजिम कारवाही गर्न समेत माग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले यो विषयसँग सम्बन्धी सबै कुरा प्रमुख जिल्ला अधिकारीले नै हेरिरहेको जानकारी दिए । उनले आफूलाई कुनै पनि कुरा थाहा नभएको बताए ।
सचिव भट्टराईले दिएको निवेदनउपर के भइरहेको छ भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पहिलो काम पीडित कर्मचारीलाई सुरक्षा दिन सुरु गरिएको बताए । उनले अन्य विषयमा राजनीतिक छलफल गरी के गर्ने टुङ्गोमा पुग्ने बताए । ‘सभामुखसँग छलफल गरेको छु, अहिले म आफै इमरजेन्सी काठमाडौं आएको छु, फर्केपछि कारवाही अघि बढाउँछु’ प्रजिअ भट्टराईले भने ।
यसैबीच कर्मचारीलाई धाकधम्की दिएको विषय मंगलबार दिउँसोसम्म कतै सार्वजनिक नभएको भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो सचिवालय प्रयोग गरी विभिन्न मिडियालाई दिएको पूर्वमुख्यमन्त्री केदार कार्की पक्षले आरोप लगाएको छ ।
मुख्यमन्त्री कार्कीले विभिन्न मिडियालाई आफ्नो सचिवालयमार्फत फोन गर्न लगाएर समाचार लेख्न लेखाएको र पूर्वमुख्यमन्त्रीको मानमर्दन गरेको उनीहरूले गुनासो गरेका छन् ।
View : 344
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved