विराटनगर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भइसकेपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट मात्रै पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्वको सहज रूपान्तरण सम्भव रहेको बताएका छन् ।
पार्टी महामन्त्रीद्वयले जारी विशेष केन्द्रीय महाधिवेशनमा नेतृत्व फेर्ने लगायतको प्रकृयाको तयारी अघि बढाएपछि खड्काले केहिबेर अघि अपिल जारी गर्दै जननिर्वाचित संस्थाका रुपमा रहेको प्रतिनिधि सभा विघटन भएपछि लोकतन्त्र र संविधानको भविष्यप्रति सर्वत्र चासो र चिन्ता बढेको भन्दै सम्झाउने प्रयास गरेका हुन् ।
उनले अहिलेको मुख्य दायित्व निर्वाचनलाई केन्द्रमा राखेर सम्पूर्ण पार्टी पंक्ति अभियानका रूपमा लाग्नु रहेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक अन्योल र अनिश्चितताबीच पार्टीलाई एकताबद्ध, संगठित र सुदृढ बनाएर निर्वाचनमा होमिन नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।
खड्काले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमार्फत संविधानलाई ‘लिकमा’ ल्याएर लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्नु अपरिहार्य भएको अपिलमा उल्लेख गरेका छन् ।
“यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन जरुरी छ,” अपिलमा भनिएको छ, “तर पार्टीभित्र अहिले असहज र अन्योलको स्थिति देखिएको छ ।”
कांग्रेसले विगतका विभिन्न कालखण्डमा मुलुक बिषम परिस्थितिमा पर्दा सही मूल्यांकनसहित आफ्नो नेतृत्वमा निकास दिएको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै खड्काले फेरि एकपटक पार्टीको काँधमा ऐतिहासिक जिम्मेवारी आएको बताए ।
कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहसम्मका पार्टी पदाधिकारी तथा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र सहयोगी सबैलाई बिषम परिस्थितिप्रति गम्भीर हुन आग्रह गरेका छन् ।
पार्टीभित्र उत्पन्न असहज अवस्था अन्त्य गर्दै एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न उनले सबैलाई सचेत गराएका छन् ।
“पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो,” अपिलमा भनेका छन्, “यसका लागि सबै तह र तप्काबाट जिम्मेवार भूमिका निर्वाह हुनुपर्छ ।”
उनले लोकतन्त्र र पार्टी एकताका लागि साझा प्रयासको आवश्यकता औंल्याउँदै सबैलाई एकढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।
View : 156
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved