Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

Advertisement

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो ।

काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले जानकारी दिए ।

यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आजदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ ।

उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गरे ।

आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् ।

डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ ।

निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।

अब डिडिसीका उत्पादन अनलाइनमा डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ ।

केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

“हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौँ, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डिडिसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुई/चार दिनमा सुरु हुन्छ”, उनले भने, “सहज ढङ्गबाट डिडिसीको उत्पादन उपभोक्ताको घरमै पुर्याउने उद्देश्यका साथ काम भइरहेको छ ।”

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved