Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

जीपीए ४ ल्याएकी सिरिनलाई सम्मान

उद्‌घोष सम्वाददाता
२६ असार २०८१, बुधवार

विराटनगर । एसईई परीक्षा–२०८० मा ४ जीपीए ल्याएर उत्तीर्ण भएकी छात्रा सिरिन भट्टराईलाई विद्यालयले सम्मान गरेको छ । विराटनगरस्थित बुढानिलकण्ठ सेकेण्डरी इङ्लिस स्कुलबाट उत्कृष्ट अंकका साथ एसईई उत्तीर्ण भएकी छात्रा भट्टराईलाई मंगलबार एक कार्यक्रमका बीच विद्यालयले नगद २५ हजार रुपैयाँसहित सम्मानित गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर प्रधान र प्राचार्य मणिराज भट्टराईले उनलाई चेक र सम्मान पत्र प्रदान गरेका हुन् । सम्मानित भएपछि बोल्दै छात्रा सिरिन भट्टराईले विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुको उत्प्रेरणाबाट आफूले उत्कृष्ट नजिता प्राप्त गरेको बताइन् । विद्यालयको नाम उचो हुने गरी उत्कृष्ट अंकका साथ उत्तीर्ण भएकोमा आफूलाई धेरै खुसी लागेको उनले बताइन् ।

‘यो सम्मानबाट म धेरै खुसी छु, स्कुल, शिक्षकहरु, परिवारलगायत सबैको मेहनतले नै मलाई सफलता प्राप्त भएको हो’ उनले भनिन् ‘मेहनत गरेको खण्डमा ४ जीपीए कठिन होइन भन्ने महसुस भएको छ, सामाजिक सञ्जाल र मोबाइलको प्रयोगबाट सचेत रहदै पढाइमा ध्यान दिएमा धेरैले राम्रो अंक ल्याउन सक्छन् ।’

२०८० को एसईई परीक्षाको परीक्षाफल अनुसार देशभरबाट १८६  विद्यार्थीहरुले ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । बुढानिलकण्ठ स्कुल विराटनगरका संस्थागत विद्यालयहरु मध्ये हरेक बर्ष उत्कृष्ट नजिता निकाल्दै आएको विद्यालयमा चिनिने गरेको छ । यो विद्यालयले २०५६ सालको एसएलसी परीक्षामै देशभरमा दोस्रो स्थान हाँसिल गरेको इतिहाँस छ । 

प्राचार्य मणिराज भट्टराईले उत्कृष्ट नजिताका लागि विद्यालयले हरेक बर्ष शैक्षिक कार्यक्रममा मेहेनत गर्दै आएको बताए । उनले अभिभावकहरुकै सहयोगमा विद्यालयले शैक्षिक गतिविधिहरुलाई अगाडि बढाउँदै आएको बताए । आगामी दिनमा पनि उत्कृष्ट नजिताका लागि विद्यालयले मेहेनत गर्दै जाने पनि बताए ।

View : 272

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved