विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले ३०औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आयोजित कार्यक्रममा उत्कृष्ट पदाधिकारी, शिक्षक र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
पदाधिकारीतर्फ सहपरीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, शिक्षकतर्फ सहप्राध्यापक डा धर्मेन्द्रकुमार सिंह र कर्मचारीतर्फ वरिष्ठ अधिकृत टेकप्रसाद अधिकारी र सवारी चालक प्रकाश भुजेल पुरस्कृत भएका छन् ।
पदाधिकारी श्रेष्ठ, शिक्षक सिंह र कर्मचारी अधिकारीलाई नगद ५१ हजारसहित उत्कृष्ट सेवा पदक प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । सवारी चालक भुजेललाई खाइपाइ आएको सेवा सुविधामा दुई ग्रेड थप गरिएको हो ।
कार्यक्रममा पूर्व उपकुलपतिद्वय महेश्वरमान श्रेष्ठ र प्रा शिरीष रिजाल, सेवा आयोग अध्यक्ष बद्रीनाथ श्रेष्ठलाई पूर्व पदाधिकारीको रूपमा मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
२० बर्ष सेवा अवधि पूरा गरेका ७ जना कर्मचारीहरूलाई समेत सोही अवसरमा दीर्घ सेवा पदक प्रदान गरिएको जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयीहरूलाई पदक, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले आफ्नो कार्यकालमा सकेसम्म राम्रो गर्ने प्रयास गरेको बताए ।
उनले विश्वविद्यालयलाई लयमा फर्काउन उपकुलपतिको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै अहिलेसम्म भएका काममा सबैको साथ र सहयोग रहेको बताए ।
रजिष्ट्रार नीलमणि पोखरेलले विश्वविद्यालयलाई उचाइमा पुर्याउन सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।
३०औं वार्षिकोत्सव अवसर पारेर नयाँ परिपाटीको थालनी गरिएको बताउँदै कार्यकारी परिषद्को निर्णयबाट निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पदाधिकारी, शिक्षक तथा कर्मचारी छनोट गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको उपस्थिति थियो ।
View : 163
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved