Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

फिदिममा एमालेको अन्तिम सभा : ओलीले भने– ‘एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध’

उद्घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने बताएका छन् । समृद्धिका लागि संकल्प यात्राका क्रममा शनिबार पाँचथर सदरमुकाम फिदिम बजारमा आयोजित अन्तिम जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमानसहितको विकास र समृद्धि आउने बताएका हुन् ।

उनले राष्ट्रियताको रक्षाको पक्षमा एमाले सँधै रहेको बताउँदै जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरू गरेको बताए । सरकार बनाउने बेलामा साना–साना पार्टीहरूलाई मिलाउनु पर्ने र त्यसको परिणाम जहिले पनि समस्या आइरहने उनले दाबी गरे ।

‘देश विकास हुन सकेको छैन, देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ, त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ’

ओलीले भने, ‘एमाले सरकारबाट हटेपछि देश कंगालीतर्फ धकेलिदैछ, सरकारको बेइमानीलाई चिर्न तपाईंहरूले एमालेलाई विश्वास गर्न जरूरी छ ।’ 

एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता र अशान्ति बढ्दै गएको उनको भनाइ थियो । 

ओलीले संकल्प यात्राका क्रममा लोकमार्ग क्षेत्रबाट एमालेलाई अत्यन्त धेरै सम्मान र माया प्राप्त भएको बताए । ओलीले जनतालाई अलमल्याएर, भ्रममा पारेर एमालेलाई कमजोर बनाउन सक्छौं भन्नेहरूलाई संकल्प यात्राबाटै जवाफ दिइएको बताए । 

‘एमालेलाई सिध्याउँछौं भने, भित्तामा टाँसिदिन्छौं भने, माटामा मिलाइदिन्छौं भने’ उनले भने, ‘तर एमाले ती सवै तत्वको षडयन्त्रहरूलाई पराजित गर्दै यहाँसम्म आइपुगको छ ।’

यात्राका त्रममा प्राप्त भएका सुझावहरू कार्यान्वयन गर्दै स्थानीय कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने उनले आश्वासन दिए ।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याँङसम्मको समृद्धिका लागि संकल्प यात्रा सम्पन्न हुन एकदिन अघि फिदिममा आयोजित जनसभामा पाँचथर, ताप्लेजुङ र इलामका विभिन्न ठाउँमा जातीय पहिचान झल्किने भेषभूषा र बाजागाजासहितको झाँकी लिएर एमाले नेता कार्यकर्ताहरू सहभागी भएका थिए ।

फिदिममा आयोजित सभालाई सम्बोधन गर्न ओली आफ्नो जन्मघर तेह्रथुमको आठराईस्थित इवाबाट बिहान फिदिम पुगेका थिए । ओलीले सोही अवसरमा फिदिममा पुष्पलाल स्मृति परिषद्को कार्यालय उद्घाटन गरेका छन् ।

कार्यालय उद्घाटनपछि विभिन्न जातीय भाँकीसहितको र्‍यालीमा पनि उनी सहभागी भएको एमाले कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए । 

लिम्बू समुदायको बाहुल्यता रहेको पाँचथरको फिदिममा एमालेले जातीय पहिचान पक्षधरहरूको बन्दका वावजुद जनसभा आयोजना गरेको हो । तिवारीका अनुसार जनसभामा सहभागी हुन गाउँगाउँबाट मानिसहरू फिदिम पुगेको बताए ।

एमाले अध्यक्ष ओलीले संकल्प यात्राको समापन भने आइतबार गर्दैछन् । उनले चिवाभञ्ज्याँङमा निर्मित संकल्प यात्राको स्तम्भ उद्घाटन र झण्डोक्तोलन गर्ने कार्यत्रम रहेको जनाइएको छ ।

View : 187

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved