विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापाको गौरीगन्जमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।
त्यसक्रममा राजनीतिक मात्रै होइन, व्यक्तिगत तहमै ओर्लेर प्रचण्डले ओलीलाई देशकै सबैभन्दा जाली, झेली कपटी र बेइमानको उपमा दिएका छन् । संयोग यस्तो थियो कि प्रचण्डले यस्तो आरोप लगाइरहेको मञ्च ओलीकै निर्वाचन क्षेत्रमा पर्छ । प्रचण्डले ओलीकै क्षेत्रमा पुगेर उनीविरुद्ध आगो ओकल्ने भाषण गरेपछि झापाका एमाले नेता–कार्यकर्ताहरूले सत्ताच्यूत हुनुको भँडास पोखेको भनेका छन् ।
कुनैबेला ओलीलाई ‘प्रतिगमनको नायक’ भनिरहेकै बेला ओलीकै साथ पाएर प्रधानमन्त्री बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोली र व्यवहार दुवै फेरिएको थियो । त्यसपछि पालो गरेर उनले कांग्रेस र एमालेको काँध फेरिरहे, प्रधानमन्त्री पद टिकाइरहे । जसै कांग्रेस–एमाले मिलेर उनी सत्ताबाट हट्न बाध्य भए, त्यसपछि भ्रष्टाचारको फाइल खोल्दा आफूलाई हटाइएको आरोप लगाए ।
प्रचण्डले सत्ताविमुख हुँदैदेखि स्थापित गर्न खोजेको यो भाष्य उनको कार्यकर्ता पंक्तिका लागि ‘पत्यारिलो’ भए पनि सार्वजनिक वृत्तमा भने अझै स्थापित हुन नसकेको अन्य दलको बुझाइ छ । ‘तेस्रो दलका रुपमा कांग्रेस र एमालेलाई खेलाउँदै पदमा टिकिरहेका बेला पद खोसिएपछि प्रचण्ड विक्षिप्त बन्नु स्वाभाविक हो’, गौरीगन्जकै एमाले कार्यकर्ता निरज श्रेष्ठले सोमबार फेसबुकमा लेखेका छन् ‘आज गौरीगन्जमा आएर गरेको भाषण त्यही भँडास मात्रै हो ।’
पार्टीको सभालाई माओवादीले ‘भ्रष्टाचारविरुद्धको खबरदारीसभा’ भन्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले त्यसलाई दोहोर्याइरहे । ओलीको क्षेत्रमा पुगेर प्रचण्डले गिरीबन्धु प्रकरणमा ओलीले गरेको बद्मासी पर्दाफास गर्ने धम्की पनि दिएका छन् ।
‘देशमा सुशासनको अभियान र भ्रष्टाचारविरुद्धको अभियान सुरु भइसकेको छ । यो खबरदारीसभा पनि भ्रष्टाचारीविरुद्धकै हो’, उनले भने ‘म अस्तिको पटक यहाँ आउँदा यहाँका किसानका समस्याबारे पनि सुनेको छु । गिरीबन्धु टि इस्टेट मैले आफैले हेरेको छु । त्यहाँका किसानहरूको समस्या सुनेको छु । सम्भवतः यो ठाउँ अहिलेका प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो लागि त यति धेरै जाली, यतिधेरै झेली कि उनको ठाउँमा बोल्दैछु । उहाँको दिमागमा जालझेलबाहेक केही देखिदैन ।’
ओलीलाई गाली गर्दा ताली बजेपछि झनै उत्साही बनेका उनले थपे, ‘गिरीबन्धुमा गरेको बद्मासीलाई पर्दाफास गरेर छोड्नेछु । गिरीबन्धु, ओम्नी, वाइडबडी यी तमाम समस्या छन् ।’ आफूलाई प्रधानमन्त्रीबाट हटाइएको विषयमा उनले दुखेसो प्रकट गरे । आफूलाई ‘जबरजस्ती, अलोकतान्त्रिक र तानाशाही रुपमा हटाइएको’ उनको दाबी थियो ।
‘मलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक र तानाशाही रुपमा हटाइयो । (अनुसन्धानको) सुई गिरीबन्धुतिर जाँदै थियो, गिरीबन्धुतिर सुई जानु ओलीतिरै जानु हो’, उनले भने, ‘बेचन झा गिरफ्तार भएपछि अर्कोतिर पनि सोझियो । त्यसपछि आतंक भयो । सोझो कुरा त्यति नै हो ।’
प्रचण्डले भनेको ‘अर्कोतिर’ को आसय आरजु राणातिर हो । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी परराष्ट्र मन्त्री राणातिर लक्षित गर्दै उनले यसो भनिरहेका बेला अर्का नेता वर्षमान पुनले प्यूठानमा सोही कुरा बोलिरहेका थिए ।
आरजु राणा शरणार्थी काण्डमा मुछिने भएपछि देउवाले किस्तीमा राखेर ओलीलाई प्रधानमन्त्री पद दिएको पुनको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले जनाए आपत्ति
झापामा सोमबार प्रचण्डले दिएको अभिव्यक्तिप्रति कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ फेसबुकमा लेख्दै मुख्यमन्त्री कार्कीले प्रचण्डको अभिव्यक्तिलाई ‘झुट, बदनियतपूर्ण र अशोभनीय अभिव्यक्ति’ भनेका छन् ।
मुख्यमन्त्री कार्कीले लेखेका छन्, ‘झुट,बदनियतपूर्ण र अशोभनीय अभिव्यक्ति के सत्ताच्युत भएपछिको अराजनीतिक अभिव्यक्ति मात्रै हो ? अशोभनीय र असन्तुलित त हुँदै हो, तर, मानसिक असन्तुलन चाहिँ नहोस् भन्ने हार्दिक शुभकामना छ ।’
View : 97
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved