Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा बाढी पहिरोबाट पुल र सडकमा मात्रै साढे ४ अर्ब बढीको क्षति

‘पूर्ण तथा आंशिक क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न ५ अर्ब ६६ करोड लाग्छ, जसमध्ये तत्काल मर्मत तथा निर्माण गर्नुपर्ने ६० वटा सडक, १५ वटा सडक पुल र १७ वटा झोलुङ्गे पुल रहेका छन्’ उनले भने, ‘यसका लागि १ अर्व २ करोड ५० लाख लाग्छ ।’
उद्घोष सम्वाददाता
२१ असोज २०८१, सोमवार

विराटनगर । असोज १० देखि परेको अविरल बर्षापछिको बाढी पहिरोले कोशी प्रदेशमा साढे ४ अर्ब बढीका पुल र सडक संरचनामा क्षति पुगेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्राकृतिक विपत्तिबाट १४ जिल्लाका १०१ वटा सडक, १५ वटा पुल र २५ वटा झोलुङ्गे पुलमा पूर्ण तथा आंशिक क्षति पुगेको जनाइएको छ । 

४ अर्ब ६३ करोड ५० लाख रूपैयाँ बराबरका ४१ वटा सडक, दुईवटा सडक पुल र आठवटा झोलुङ्गे पुल पूर्णतया क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । त्यसैगरी १ अर्व २ करोड ५० लाख रूपैयाँ बराबरका ६० वटा सडक, १५ पक्की पुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।

‘पूर्ण तथा आंशिक क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न ५ अर्ब ६६ करोड लाग्छ, जसमध्ये तत्काल मर्मत तथा निर्माण गर्नुपर्ने ६० वटा सडक, १५ वटा सडक पुल र १७ वटा झोलुङ्गे पुल रहेका छन्’ उनले भने, ‘यसका लागि १ अर्व २ करोड ५० लाख लाग्छ ।’

बाढी पहिरोपछि गरेको प्रारम्भिक क्षतिको अनुमान सार्वजनिक गर्दै पूर्ण तथा आंशिक क्षति अन्तरगत उदयपुर–खोटाङमा सबैभन्दा बढी ६४ करोड ३ लाख रूपैयाँ बराबरको सडक पुल क्षति भएको बताए । 

भोजपुर–धनकुटामा ५५ करोड, पाँचथर–ताप्लेजुङमा ३६ करोड, सोलुखुम्बु–ओखलढुंगामा २८ करोड ५ लाख, झापा–इलाममा १५ करोड, संखुवासभा–तेह्रथुममा ५२ लाख र सुनसरी–मोरङमा २७ लाख रूपैयाँ बराबरको सडक पुल पूर्ण तथा आंशिक क्षति भएको मन्त्री राईले जानकारी दिए ।

मन्त्री राईले क्षति भएका पुल र सडकहरूमध्ये केही सडक र पुलको मर्मत सुरू गरिएको र त्यसलाई दशैं अघि नै सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

उनले सडकतर्फ सबैभन्दा बढी इलाममा क्षति भएको बताए । त्यसपछि खोटाङ जोड्ने पक्की पुल र झोलुङ्गे पुलमा ठूलो क्षति भएको जानकारी दिए ।

दशैं अघि नै यी दुई जिल्लामा सडकलाई सञ्चालन गर्न प्रदेश सरकारले समेत आवश्यक पहल गरिरहेको बताए । उनले बाढी पहिरोबाट कोशी प्रदेशको पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको बताए । 

‘पाँचथर हेवा खोलामा पुल बगाएका कारण आजैदेखि ह्यूमपाइप राखेर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ, एक दुई दिनभित्रै ह्यूमपाइप लागिसक्छ, सडकमा गाडी चल्छ’ मन्त्री राईले भने, ‘फोक्सिङटारमा पुल बगाएपछि उदयपुरतिरबाट रसुवाघाटसम्मको ट्रयाक मर्मतको काम भइरहेको छ, भोलिसम्ममा साना सवारी साधन चल्छन् ।’

फोक्सिङटारदेखि रसुवाघाटसम्मको साढे ३ किलोमिटर ट्र्याकलाई सफाई गरेर सञ्चालन गरेर कम्तीमा पनि पैदल यात्रुलाई खोटाङ ओहोरदोहोर गर्न सहज बनाइने बताए ।

उनले इलाम सदरमुकाम जोड्ने सडक मर्मतका कारण जोखिम बढेपछि वैकल्पिक सडक सञ्चालन गर्नका लागि सरकारले स्थानीय पालिकाहरूसँग समन्वय गरिरहेको बताए ।

View : 187

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved