विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएका दुईवटा खेलमा सुदूरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् । बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको ३० दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ७४ रनको झिनो लक्ष्य कायम गरेको थियो ।
कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । सुदूरका नरेन साउदले सर्वाधिक ५ विकेट लिएका थिए । उनले ९ ओभरमा ४ मेडन फाल्दै ९ रन मात्रै दिए । साउद नै खेलको प्लेयर अफ म्याच घोषित भए ।
७५ रनको लक्ष्य पाएको सूदुरले १८ दशमलव १ बलमै लक्ष्य भेट्टाएको थियो । त्यसका लागि ५ विकेट पनि सहनु पर्यो । सूदुरका नरेन भट्टले सर्वाधिक २८ रन बनाउँदा यूवराज खत्रीले २३ रन जोडे ।
कर्णालीका यूनिष ठकुरीले सर्वाधिक ३ विकेट लिए । सूदुरको २ खेलमा २ अङ्क छ । कर्णालीले दुवै खेल गुमाएर अङ्क विहीन छ ।
मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार नै भएको अर्को खेलमा मधेश प्रदेशले बागमतीलाई ४६ रनले पराजित गरेको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको मधेश ४६ दशमलव ३ बलमा अलआउट थियो । उसले १४२ रन जोड्यो ।
इमरान शेखले सर्वाधिक ५४ रन बनाए । बागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट लिए ।
१४३ रनको लक्ष्य पाएको बागमतीले ३९ दशमलव ४ बलमा ९६ रन जोड्दै अलआउट भयो । बागमतीका रिङजिन लामाले नटआउट ३५ रन बनाए ।
मधेशका राजेश यादव र अफ्रुदिन रैनले ३-३ विकेट लिए । प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए ।
मधेश प्रदेशले प्रतियोगिताका ३ खेल मध्ये २ खेल जित्दै ४ अङ्कसहित दोस्रो स्थान छ । बागमतीको २ खेलमा १ खेलमा जित हात पार्दै पाँचौ स्थानमा रहेको छ ।
मंगलबार बैजानाथपुर रंगशालामा लुम्बिनी र कर्णाली तथा मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकीबिच खेल तय गरिएको आयोजक कोशी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष अनुप ढुङ्गानाले जानकारी दिए ।
View : 146
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved