Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

झापामै कमजोर भयो सिटौला समूह

उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पछिल्लो समय ‘सात भाइ’ को समूहमा रहेर पार्टी रुपान्तरणको आवाज दबाउन सक्रिय रहेको आरोप खेपिरहेका छन् । 

उनले काठमाडौंमा बसेर विशेष महाधिवेशन रोक्न जोडबल लगाइरहँदा उनको गृहजिल्ला झापाका उनी पक्षका नेताहरू भने महामन्त्रीहरूको लाइनमा धमाधम खुल्न थालेका छन् । 

त्यसो त सात भाइ समूहकै नेता गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । 

सिटौलाकै गृहजिल्ला झापाका नेता सुधीर शिवाकोटी विशेष महाधिवेशनका पक्षमा उभिएका छन् । 

झापाका ७० प्रतिशत हाराहारी विशेष महाधिवेशनमा सहभागी बन्ने निश्चित भइसकेको विशेष महाधिवेशन पक्षधरहरूको भनाइ छ । 

शिवाकोटी पनि विशेष महाधिवेशनको पक्षमा उभिएपछि यो संख्या झनै बढ्ने भएको उनीहरूको भनाइ छ । 

सिटौला झापाको जिल्ला सभापति हुँदा सचिव रहेका र दुई कार्यकाल झापा कांग्रेसको सभापति बनेका नेता शिवाकोटीले विशेष महाधिवेशनमा सहभागी बन्न आह्वान गरेका छन् ।

पार्टी सुकिलामुकिलाहरूको कब्जामा परेको र त्यसलाई वीपीकै आदेशबमोजिम उनीहरूको कब्जाबाट मुक्त तुल्याउने बेला  आएको शिवाकोटीले बताएका छन् । 

‘नेपाली कांग्रेसलाई परिवर्तन गर्ने वीपीकै आदेशबमोजिम पार्टीमा पछि फेरि सुकिलामुकिला बदनाम ब्यक्तिहरूले कब्जा गर्नेछन्, कार्यकर्ता साथीहरूले फेरि पार्टीको शुद्धीकरण गर्न पार्टीमा एक पटक आन्दोलन गर्नुपर्ने छ भन्ने हामीलाई निर्देशनबमोजिम पार्टीकै शुद्धता र सुदृढीकरण गर्न विशेष महाधिवेशनलाई सफल पार्नुपर्ने समय आएको छ’ उनले भने, ‘सक्ने साथीहरू काठमाडौं जाउँ वा जिल्लामा बसेरै सक्रिय  समर्थन गरौं ।’ 

सिटौलाका विश्वासपात्र भनेर चिनिने शिवाकोटी २०५६ देखि २०६४ सम्म गरी दुई कार्यकाल पार्टीको झापा सभापति भएका थिए । शिवाकोटी २०७० को संविधानसभा निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए । 

२०४६ को र २०६२–६३ को दुवै जनआन्दोलनमा झापाका आन्दोलनको अगुवाइ गरेका उनी २०६२–६३ मा सेनाको हिरासतमा रहेर चरम यातना खपेका नेता पनि हुन् । 

उनलाई यस पटक राष्ट्रिय सभामा उठ्न भनेर नेताहरूले जोड गरेका थिए । 

सुरुमा टिकट दिने वचन दिए पनि अन्तिममा सुनिल थापालाई अघि सारिएपछि उनले असन्तोष प्रकट गरेका थिए । 

झापा क्षेत्र नम्बर २ का सिटौला निकट सभापति खगेन्द्र मैनाली पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर नगरेकाहरू पनि धमाधम विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।

View : 225

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved