Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अधिकारी वंशको पहिलो बैठक सम्पन्न

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

सांकेतिक तस्वीर ।

विराटनगर । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिको पहिलो बैठकले धार्मिक परम्पराको जगेर्ना र सामाजिक सेवालाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ । 

शनिबार विराटनगरमा सम्पन्न समितिको बैठकले नियमित गोठ धुप (कुल पूजा) गर्ने, वार्षिक भित्ते क्यालेन्डर प्रकाशन गर्ने र विगतदेखि गरिंदै आएको मुठ्ठी दान कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले सांगठनिक विस्तारलाई प्राथमिकता दिंदै ‘बृहत्तर महानगर’ बनाउने अभियानअन्तर्गत छिमेकी कटहरी गाउँपालिकालाई समेत समेटेर सदस्यता विस्तार गरेको छ । 

सोही अभियानअन्तर्गत बैठकले कटहरीका यादव अधिकारीलाई सदस्यमा मनोनित गरेको छ । कार्यक्रमका बारेमा जानकारी दिंदै अध्यक्ष युवराज अधिकारीले वंशको पहिचान र एकताका लागि वर्षभरि गरिने गतिविधिहरूलाई आफ्नै वार्षिक क्यालेन्डरमा उल्लेख गरेर कार्यान्वयन गरिने बताए ।

कुलदेवी विन्ध्यवासिनीलाई मान्दै आएका कश्यप गोत्रीयहरूलाई एकै ठाउँमा भेला गराई परम्परा, संस्कृति र रीतिरिवाजको संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरिएको महानगर कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिए । उनका अनुसार महानगर क्षेत्र र आसपासमा रहेका सम्पूर्ण वंशजहरूलाई गोलबद्ध गर्दै सामाजिक एकता कायम गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य रहेको छ ।

संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न बैठकले एक सल्लाहकार समितिको समेत चयन गरेको छ । 

सल्लाहकार समितिमा चन्द्र अधिकारी, माधव अधिकारी, नवीन अधिकारी, लिलाबल्लभ अधिकारी, रमेश अधिकारी विकास अधिकारी र राजन अधिकारी (कटहरी) रहेका छन् ।

त्यसैगरी आगामी नयाँ वर्ष २०८३ को उपलक्ष्यमा ‘वंशावली भित्ते पात्रो’ प्रकाशन गर्नका लागि चन्द्र अधिकारीको संयोजकत्वमा एक प्रकाशन समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा युवराज अधिकारी, माधव अधिकारी र लक्ष्मी अधिकारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिए । 

सो क्यालेन्डरमा वंशको इतिहास, कुल पूजाका तिथिहरू र प्रतिष्ठानका वार्षिक कार्यक्रमहरू समेटिने बताइएको छ । 

प्रतिष्ठानको सम्पर्क कार्यालय सप्तकोशी बोर्डिङ्ग स्कुल विराटनगर–८ मै सञ्चालनमा ल्याइएको सचिव राजु अधिकारीले बताए ।

View : 129

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved