विराटनगर । यही माघ २१ गते आइतबार विश्व क्यान्सर दिवसको अवसर पारेर टंकिसिनवारीस्थित विराट क्यान्सर इन्स्टिच्युटमा एकै दिन १५ वटा कार्यक्रम हुने भएका छन् । ऊक्त कार्यत्रमको उद्देश्य क्यान्सर रोग पीडितका लागि सहयोग जुटाउनु भएको आयोजक संस्था ‘रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट’ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विश्व क्यान्सर दिवसको अवसरमा १५ वटाभन्दा बढी कार्यक्रम उक्त संस्थाले ‘आशा क्लोज द केयर ग्याप’ को नारा दिएर गर्न लागेको हो । क्यान्सरका बिरामीको उपचारमा सहयोग पुगोस् भनेर एकै साथ १५ वटा कार्यक्रम गर्न लागिएको विराट क्यान्सर इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले जानकारी दिए । ऊनले १५ वटा कार्यक्रममध्ये केही कार्यत्रम कोष निर्माण सहयोगार्थ हुने बताए ।
उनका अनुसार म्याराथुन, साइकल रेस, कार रेसजस्ता कार्यक्रमका सहभागीबाट उठ्ने शुल्कले क्यान्सर रोग पीडितको उपचार खर्च व्यहोरिने छ । विभिन्न प्रायोजक तथा सहयोगी संस्थाबाट अहिले नै ६५ लाख बराबर रकम संकलन भइसकेको र यो रकम बढ्ने उनले बताए ।
आम नागरिकमा क्यान्सर सम्बन्धी जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक खालका १५ वटाभन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गर्ने उनले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले स्कुल र्याली, साइकल र्याली, स्कुटर र्याली, कार र्याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धी प्रस्तुति, विद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुति, सांगीतिक कार्यक्रमजस्ता विभिन्न सचेतनामूलक कार्यक्रम हुने उनले बताए ।
उनका अनुसार गायक सविन राईको सांगीतिक कार्यक्रम हुने, उद्घाटनका दिन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुने छन् ।
कार्यक्रमका लागि रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले रोटरी क्लब, राउन टेबल, स्टन मोर्डसलगायतका संघसंस्थासँग सहकार्य गरेको छ ।
View : 419
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved