Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पेशाकर्मीमाथि आक्रमण बन्द गरी अधिकार संरक्षण गर्न पेशागत महासंघको खबरदारी

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८२, शनिवार

विराटनगर । सरकारले आफ्ना अधिकार संकुचन हुने गरी विभिन्न खालका निर्णय गर्न थालेको भन्दै पेशाकर्मीहरूले खबरदारी गरेका छन् । 

पेशागत महासंघ मोरङको आयोजनामा शुक्रबार विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा पेशाकर्मीहरुको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत उनीहरूले पेशाकर्मीको अधिकार संक्षरण गर्न सरकार र त्यहाँ पुग्ने दलहरूलाई आग्रह गरेका हुन् । 

पछिल्लो पटक भएको जेनजी प्रदर्शनका क्रममा पेशाकर्मीहरूलाई समेत लक्षित गरी भएका आक्रमण, घर तोडफोड, आगजनी जस्ता घटनाप्रति उनीहरूले आपत्ति जनाए । त्यस्तै मधेस प्रदेशमा जिम्मेवारी राजनीतिक दलहरूका सांसदहरूले नै कर्मचारीमाथि हातपात गरेको घटनाप्रति खेद प्रकट गरेका छन् ।

पेशागत महासंघका कोशी अध्यक्ष अशेस लम्सालले राजनीतिक दलहरूले पेशाकर्मीहरूको अधिकार संरक्षण गर्न नसकेको गुनासो गरे । 

नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङका अध्यक्ष विन्दु कुमार लावतीले शिक्षकहरूले शिक्षा ऐनका लागि लामो संघर्ष गरेपनि सरकार र त्यहाँ पुगेका राजनीतिक दलहरूले वेवास्ता गरेको आरोप लगाए । 

निजामति कर्मचारी संगठन मोरङका पुर्व अध्यक्ष ओम सुवेदीले कर्मचारीहरूलाई नै सुरक्षा दिन नसक्ने राज्य प्रणालीभित्र सार्वजनिक सेवा प्रवाहको अवस्था कसरी सुधार हुन्छ भन्दै प्रश्न गरे ।

विभिन्न क्षेत्रका पेशाकर्मीहरूले अहिलेको सरकारभित्र पेशाकर्मीहरूको आवाज सुन्ने कुनैपनि माध्यम नै नरहेको बताए । सरकारले झनझन पेशाकर्मीहरूमाथि आतंक सिर्जना गरेको उनीहरूले आरोप लगाए ।

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले पेशाकर्मीहरूले उठाएका सवालहरूप्रति पार्टीले जिम्मेवारपूर्वक समिक्षा गर्ने बताए ।

उनले केही बिषयहरू माथिल्लो राजनीतिक तहबाट नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने अवस्था रहेको भन्दै एमालेले सवै पेशाकर्मीहरूको अधिकार संरक्षणको पक्षमा उभिने प्रतिवद्धता जनाए ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले पेशाकर्मीहरूको सुरक्षालाई पार्टीले प्रमुख मुद्दा बनाएको बताए । 

उनले जेनजी प्रदर्शनका नाममा मुलुकभित्र ठुलो भूराजनीतिक चलखेल भएको भन्दै त्यसका विरुद्ध पेशाकर्मीहरूले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । 

घिमिरेले मुलुकको राजनीतिक अवस्थामा सुधार भएको खण्डमा मात्रै सवै पेशा, क्षेत्रको हक अधिकार प्रत्याभूति गर्न सकिने बताए । 

पेशागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा पेशागत महासंघका विभिन्न घटक संगठनसम्वद्ध पेशाकर्मीहरूको सहभागिता रहेको थियो ।

View : 941

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved