Biratnagar, Morang, Nepal
२ चैत २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सीपले खुल्यो रोजगारीको ढोका

उद्‌घोष संवाददाता
१ चैत २०८२, आइतवार

प्रशिक्षण पाएपछि तालिमप्राप्त महिला र प्रशिक्षक । तस्वीर : उद्घोष

विराटनगर । केही समयअघिसम्म घरायसी काममै सीमित विराटनगर र बुढीगंगाका महिलाहरूको एक समुह निःशुल्क गार्मेन्टको सीप सिकेर अहिले आयआर्जन गर्ने तयारीमा छन् ।

दुई साताको छोटो तालिमले उनीहरूलाई रोजगारीतर्फ अघि बढ्ने आत्मविश्वास दिएको छ । 

विराट व्यापार संघको आयोजनामा र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा आरएस फेसन उद्योगद्वारा सञ्चालन गरिएको तालिम हालै सम्पन्न भएको छ । 

तालिमपछि सहभागीले आफूहरू तत्काल स्वरोजगारमा लाग्न सक्ने बताएका छन् ।

२० देखि ४० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा १० जना प्रशिक्षार्थी सहभागी थिए । 

आयोजक आरएस फेसनका सञ्चालक रमा भट्टराईका अनुसार यो तालिम निःशुल्क नभएको भए १५ दिनको आधारभूत तालिमका लागि प्रति व्यक्ति करिब १६ हजार रुपैयाँ खर्च हुने थियो ।

तर रोजगारीको आवश्यकता भएका महिलालाई अवसर दिनका लागि तालिम निःशुल्क प्रदान गरिएको हो । तालिमका लागि विराट व्यापार संघले सूचना प्रकाशित गरी इच्छुक महिलाबाट निवेदन आह्वान गरेको थियो । 

त्यसपछि आर्थिक रूपमा आवश्यकता भएका तथा तालिमपछि काम गरेर आयआर्जनमा जोडिन इच्छुक महिलालाई छनोट गरिएको आयोजकले जनाएको छ ।

तालिममा विराटनगर महानगरपालिका वडा नम्बर ३ र बुढीगंगा गाउँपालिका वडा नम्बर १ का महिला सहभागी भएका थिए । 

तालिमका क्रममा उनीहरूले कपडा कटिङ, सिलाइ तथा आधारभूत गार्मेन्ट उत्पादनसम्बन्धी सीप सिकेका छन् । तालिम पाएका महिलाले प्लाजो, जर्सी, भेस्ट जस्ता तयारी कपडा उत्पादन गर्न सक्ने भएका छन् । 

थप एक महिना उन्नत तालिम पाएपछि रेडिमेड सर्ट, पेन्ट, ट्रयाकसुट र कोट जस्ता कपडा तयार गरेर बजारमा बिक्री गर्न वा ठूला गार्मेन्ट उद्योगमा काम गर्ने अवसर पनि प्राप्त हुने सम्भावना छ । 

उनीहरूका लागि थप तालिम सञ्चालनको ब्यवस्था मिलाउन सहयोगीको खोजी भइरहेको भट्टराईको भनाइ छ ।

तालिम सञ्चालनमा भट्टराईले प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् भने कार्यक्रमको संयोजन रमा श्रेष्ठले गरेकी थिइन् । 

तालिम पाएका सहभागी १० जनामध्ये केहीलाई आरएस फेसन उद्योगले रोजगारी दिने भएको छ । अन्यलाई आर्धा होजियारीमा काम गर्ने अवसर प्रदान गरिने सो होजियारीका सञ्चालक बिनिता दाहालले जानकारी दिइन् । 

उनका अनुसार यस्तो सीप सिकेर महिलाहरू भविष्यमा आफ्नै व्यवसाय सुरु गर्ने उद्यमी बन्ने सम्भावना पनि छ । 

तालिम समापनमा विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जराले महिलालाई आत्मनिर्भर बनाउन यसखाले थप कार्यक्रम सञ्चालन गर्न आफूहरू तयार रहेको बताए । 

विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेतले सीप सिक्ने जाँगर भएका र सीप सिकेपछि ब्यवसाय वा रोजगारीमा लाग्न सक्ने महिलाका लागि थप तालिम सञ्चालनमा सहयोग गर्न वडा कार्यालय तयार रहेको जानकारी दिए । 

विराट व्यापार संघले व्यवसायीलाई लक्षित गरी बजेट व्यवस्थापन तथा कर प्रणालीसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

View : 153

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved