Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

सोमबारदेखि कोशेढुंगाको प्रदर्शनले पायो निरन्तरता

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

विराटनगर । चर्चित सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ ।

प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुंगा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । 

भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुंगा’ को प्रदर्शन पनि स्थगित भएको थियो ।

सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुंगाको प्रदर्शनले निरन्तरता पाएको हो । 

राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।

निर्देशक पौडेलले सुरुमा जस्तै दर्शकबाट ‘कोशेढुंगा’ ले अब पनि सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताए । 

‘हाम्रो चलचित्रलाई हेर्ने दर्शकले राम्रो भन्नुभएको छ,’ उनले भने, ‘अब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौं ।’

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुंगा’ ले देशभरबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । 

देशका विभिन्न शहरका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा आफूहरू ठूलो संख्यामा दर्शकले चलचित्र हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका लेखक पनि सरोज पौडेल नै हुन् । 

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमको अभिनय छ । 

सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतले पनि चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । 

बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । चलचित्रको गीतमा खेम सेञ्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन् ।

View : 301

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved