विराटनगर । स्रोत नखुलेको रकम सहित विराटनगरमा पक्राउ परेका लक्ष्मणप्रसाद साह भारतीय र नेपाली रुपैयाँको ओसारपसार गर्ने पेशेवर कारोबारी भएको पाइएको छ । उनी मंगलबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय नजिकैबाट पक्राउ परेका थिए ।
सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका वडा नं. ७ स्थित जिल्ला प्रशासन रोडबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँसहित उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका साह मोरङ जहदा गाउँपालिका–७ तरिगामा बोर्डर निवासी भए पनि विराटनगर–१५ रानीमा बस्दै आएका थिए । उनी भारतीय र नेपाली रुपैयाँको कारोबार गर्ने पेशामा संलग्न पेशेवर व्यक्ति भएको स्रोतले बताएको छ ।
तरिगामा बोर्डरमा फलामको ड्राम, खाद्यन्न, मरिच, सुकुमेलजस्ता वस्तुको तस्करी काम गर्दै आएका उनी केही वर्ष यता विराटनगरमा बसेर भारतमा रहेका नेपाली रुपैयाँ विराटनगर ल्याउने काममा सक्रिय रहेको बताइएको छ ।
नेपाली उपभोक्ताले भारतको जोगवनीमा उपभोग्य वस्तु वा कपडा खरिद गरेको नेपाली रुपैयाँ अबैध तरिकाले नेपाल भित्रने गर्छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार साह हुण्डी कारोबारीका भरिया पनि हुन् । नेपाली ब्यापारी बिभिन्न देशमा जाँदा लिएर गएको नोट हुण्डी मार्फत भारतमा आउने गरेको छ । सो रकम साह जस्ता भरियामार्फत नेपालमा ल्याइने सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए ।
साहले चढेको को १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी बल बराह वाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।
राजश्व अनुसन्धान कार्यालयका अनुसार १६ लाख १० हजार रुपैयाँ धरौटी बुझाएर साह छुटेका छन् । उनी विरुद्ध अनुसन्धान भने भइरहेको बताइएको छ ।
View : 183
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved