विराटनगर । बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका विराटनगरको तुलसी सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष अनिता गौतम र संचालक समितिका दुई सदस्यहरु सीताराम अधिकारी र आदित्यराज भट्टराईलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको इजलासले प्रबन्धक मन्दिप खवास र सचिव सविना न्यौपानेलाई भने थुनामै राख्न आदेश दिएको हो ।
रमा पौडेल तथा ४७४ जना पीडित बचतकर्ताहरु समेतको जाहेरीले मोरङ जिल्ला अदालतको आदेश अनुसार थुनामा पठाउने आदेश भएकोमा त्यसविरुद्ध उनीहरु उच्च अदालत पुगेका थिए ।
उच्च अदालत विराटनगरको बिहीबारको आदेश अनुसार सहकारीका संचालक समितिका पदाधिकारीहरु मध्ये उपाध्यक्ष गौतम, संचालक समिति सदस्य अधिकारी र भट्टराईको सन्दर्भमा जिल्लाको आदेश बदर गर्दै धरौटी माग गरिएको जनाइएको छ ।
हजारौं बचतकर्ताको बचत रकम हिनामिना गरेर फरार भएका सहकारी संचालक केदारनाथ शर्मासहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
बचतकर्ताहरूको करोडौं रकम ठगी गरेर शर्मा भागेपछि तुलसी सहकारीको संचालक समितिको उपाध्यक्ष रहेकी उनकै श्रीमती अनिता गौतमसहित सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई पक्राउ गरी मोरङ जिल्ला अदालतको आदेश अनुसार उनीहरु पुर्पक्षको लागि कारागार चलान भएका थिए ।
तुलसी सहकारीको बचत हिनामिना भएका बचतकर्ताहरुबाट प्राप्त उजुरी र थप अनुसन्धानका आधारमा सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकले ६७ करोड ८६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
सहकारी अध्यक्ष शर्मालाई भने सीआईबी भारतको मुम्बईबाट पक्राउ मुद्दा चलाइसकेको छ । अध्यक्ष शर्मा एक्लैले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको कुनै पनि श्रेस्तामा उल्लेख नगरी हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
View : 210
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved