Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

यु–१९ महिला टि–२० विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल

उद्घोष सम्वाददाता
२८ कार्तिक २०८१, बुधवार

काठमाडौँ, २८ कात्तिक । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । 

यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो ।

एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ ।

पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । 

तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो ।

उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।

आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ ।

युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड दुई अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ ।  रासस

View : 56

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved