सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसले विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
क्याम्पसमा स्थापना गरिएका अक्षयकोषको ब्याज, विभिन्न संघसंस्था र निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी पहिलो चरणमा शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने १ सय ८३ जना जेहेन्दार विद्यार्थीहरूलाई १८ लाख ८१ हजार ९९८ बराबरको रकम छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अक्षयकोषदाताहरू, छात्रवृत्ति दाता, संघसंस्था, सहकारी बैंकका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू सहभागी थिए ।
संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा आगामी मंसिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छाक्रवृत्ति वितरण गरिने कार्यत्रम रहेको जानकारी दिइएको थियो ।
यसका अतिरिक्त क्याम्पसका विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ६६ जना विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोगबाट जनही वार्षिक १५ हजरका दरले ९ लाख ९० हजार छात्रवृत्ति पाइरहेका छन् ।
रुक्माङ्गत कटवाल ट्रष्टबाट एक जनाले वार्षिक २५ हजार २ सय र अर्को एक जनाले वार्षिक ३५ हजार गरी ६० हजार २ सय छात्रवृत्ति पाइरहेको र पहिलो चरणमा २ सय ५१ जना विद्यार्थीहरूले २९ लाख ३२ हजार १ सय ९८ छात्रवृत्ति रकम विद्यार्थीहरूले प्राप्त गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल जानकारी दिएका छन् ।
View : 95
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved