Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सुन्दरहरैंचा उपमेयर कपको उपाधि आमचोक गाउ“पालिकाले उचाल्यो

उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचास्थित गछिया खेल मैदानमा सम्पन्न ‘दोस्रो सुन्दरहरैंचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता’ को उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । 

बिहीबार भएको रोमाञ्चक फाइनल भिडन्तमा आयोजक सुन्दरहरैंचा नगरपालिकालाई सोझो सेटमा स्तब्ध पार्दै आमचोकले उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनल खेलमा आमचोक गाउँपालिकाले सुरुदेखि नै उत्कृष्ट लय प्रदर्शन गरेको थियो । 

घरेलु दर्शकको बाक्लो उपस्थिति र समर्थन हुँदाहुँदै सुन्दरहरैंचाले आमचोकको आक्रामक खेललाई रोक्न सकेन । 

आमचोकले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ को सहज अन्तरले जित्दै च्याम्पियन बन्यो । उपविजेता बनेको सुन्दरहरैंचाले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
पुरस्कार तथा सम्मान विजेता टोली आमचोक गाउँपालिकाले शिल्ड र पदकसहित नगद १ लाख ३३ हजार ३ सय ३३ नगद प्राप्त गरेको छ । उपविजेता सुन्दरहरैँचा नगरपालिकाले ६६ हजार ६ सय ६६ र ट्रफी हात पार्यो ।

विजयी खेलाडीहरूलाई सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमकी अध्यक्ष एवं नगर उपप्रमुख अकली चौधरी, नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठ र पूर्व राष्ट्रिय भलिबल खेलाडी पोस्टकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

व्यक्तिगत विधामा उत्कृष्टहरू प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो । 

सो अनुसार उत्कृष्ट खेलाडीमा आरुषा तामाङ (आमचोक), उत्कृष्ट  सेटर रुमा श्रेष्ठ (आमचोक), उत्कृष्ट रक्षपङ्तिका खेलाडी सरला राई (आमचोक), उत्कृष्ट स्पाइकर क्रिष्मा डाँगी (सुन्दरहरैंचा), उत्कृष्ट लिब्रो मनिका श्रेष्ठ (सुन्दरहरैंचा) घोषित भए । सोही अवसरमा राष्ट्रिय भलिबल खेलाडी क्रिष्मा डाँगीलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो ।

सिद्धार्थ युवा समाज क्लबको आयोजनामा गत माघ ६ गतेदेखि सुरु भएको यस प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ वटा पालिकाका महिला भलिबल टोलीहरूको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष असिम राईले जानकारी दिए ।

View : 58

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved