विराटनगर । यति बेला सामाजिक सञ्जालमा पिपलको रूख काटेर चराका दर्जनौं बचेरा मारिएको भिडियो चर्चामा छ । मोरङको रतुवामाई नगरपालिका–४ झुर्किया बजारमा रहेको रूख काट्न लगाएर बचेरा मारिएको वडाध्यक्षले स्वीकार गरेका छन् ।
वडाध्यक्ष महावीरप्रसाद गनगाईंले चरा मार्न रूख कटाएको उद्घोषसँग स्वीकार गरे ।
दैनिक लाग्ने झुर्किया हाटमा चराका बचेरा खसेर फोहर भएको तथा चराको सुलीले दुर्गन्ध फैलिएकाले रूख काट्न लगाएको बताए ।
प्रकृतिका चरा मार्न पाइदैन । चराको बासस्थान पनि हटाउन पाइँदैन । यदि त्यसो गरे कानुनी कारवाही हुने ब्यवस्था छ । तपाईको आदेशमा अपराध भएको छ, कोको कारवाहीको भागेदार हुने ? उद्घोषको प्रश्नमा गनगाईले आफूले आदेश दिएकाले आफू नै कारवाही भोग्ने बताए ।
हुर्कदै गरेका पानी काग र बकुल्लाका बच्चा रूखसँगै लडेर मरेका छन् भनें केही घाइते छन् । बजारको बीचमा रहेको पिपलको रूखमा चराका धेरै वटा गुँड थिए ।
रूख काट्दै गर्दा भिडियो खिच्ने स्थानीयवासीले भिडियोमा चराका बच्चा हुर्किएपछि काट्न आग्रह गरेको सुनिन्छ । ठूलो रूख लड्दा चराका धेरै बचेरा भट्याक भट्याक गरेको देखिन्छ ।
रूख काट्ने मध्येका केहीले जीवित बचेर उचालेर राखेको देखिन्छ । चराका बथानलाई नै असर गर्ने गरी गरिएको कामको भिडियो सार्वजनिक भएपछि जिल्ला वन डिभिजन कार्यालयले कर्मचारी परिचालन गरेर वास्तविकता खोजी गरेको छ ।
डिभिजन वन मोरङका प्रमुख उत्सव थापाले दोषीलाई कारवाहीको प्रक्रियामा ल्याउने बताए । चराका घाइते बचेरालाई झुर्किया स्वास्थ्य चौकीमा राखिएको छ ।
वडाध्यक्ष गनगाईँले दानापानी दिएर स्वास्थ्य चौकीमा राखिएको र बचेरा हुर्किएपछि रूखमा लगेर छाड्ने बताए । तर, वन विभागले भनें ती बचेराको उद्धार गरिने जनाएको छ ।
चरा मार्न रूख काटिएको बारे सोमबार मुचुल्का तयार गरिने बताइएको छ । विराटनगर वन डिभिजन कार्यालयका प्रमुख विमल केसीले सोमबार ती बचेरा उद्धारका लागि कर्मचारी झुर्किया जाने बताए ।
आइतबार पनि घटनाबारे बुझ्न गएका वन कर्मचारी त्यसै फर्किएका छन् । रूख कस्ले र किन काटेको भन्नेसमेत सूचना नलिई फर्किएको बताइएको छ ।
बजार ब्यवस्थापन समितिलाई वडाध्यक्ष गनगाईँले रूख काट्न लगाएका थिए ।
‘पिपलको रूख न काट्न मिल्छ, न बाल्न मिल्छ काटेर लैजानु भनेको हो’ गनगाईँले भने ।
चराले समस्या भयो भनेर रूख काट्दै बचेरा मार्नेलाई हदैसम्मको कारवाहीको माग गर्दै कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले वन विभागमा आग्रह गरेका छन् ।
चराको शिकार गर्न कानुनले पूर्ण रूपमा निषेध गरेको छ । जंगली पक्षी र जनावरको शिकार र ब्यापार गर्नेलाई ३ देखि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
धेरै पक्षीहरू एकै ठाउँमा मार्नेलाई ३ वर्षसम्म कैद र १० हजार रूपैयाँ जरिवाना हुने ब्यवस्था छ ।
कोशी पक्षी समाजका पूर्व अध्यक्ष अनिष तिम्सिनाले ठूलो संख्यामा चरा मार्नेहरू बिरूद्ध जिल्ला वन कार्यालयमा जाहेरी दिने तयारी गरिएको बताए ।
View : 1051
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved