Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालय स्कुलको १०औं वार्षिकोत्सव सम्पन्न

उद्‌घोष संवाददाता
१२ फागुन २०८२, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय अंग्रेजी स्कुलले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । 

विद्यालय परिसरमा आयोजित विशेष समारोहका बीच विभिन्न सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापसहित वार्षिकोत्सव मनाइएको हो ।

विद्यालयका प्रँचार्य कमल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यालयको १० वर्षे यात्रालाई सङ्घर्ष, समर्पण र विश्वासको कथाका रूपमा चित्रण गरे । 

‘सीमित स्रोतबाट सुरु भएको यो यात्रालाई यहाँसम्म ल्याउन विद्यार्थी, अभिभावक र शिक्षकहरूको निरन्तर साथ नै मुख्य शक्ति हो,’ खनालले भने, ‘यो उत्सव केवल वार्षिकोत्सव मात्र होइन, हाम्रो सामूहिक सपनाको उत्सव हो ।’ 

उनले आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा सुन्दरहरैंचा–१२ का वडाध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालले छोटो समयमै सो विद्यालयले हासिल गरेको प्रगति सुन्दरहरैंचाका लागि गर्वको विषय भएको बताए । 

स्थानीय शिक्षा विकासमा निजी शैक्षिक संस्थाहरूको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका गतिविधिहरूलाई सञ्चार माध्यममार्फत प्रचार–प्रसार गरेको भन्दै पत्रकारहरू मणिराम दाहाल, योगेन्द्र योगी, शिव भट्टराई भोजपुरे, एलएन गच्छदार र राज पोखरेललाई सम्मान गरिएको थियो ।

यस्तै, विद्यालयमा आयोजित नृत्य तथा गायन विधाका लागि गरिएको प्रतियोगिता ‘डान्स आइडल’ र सिङ्गिङ आइडल’ का विजेताहरूलाई पुरस्कृत गरिएको थियो ।

गायनतर्फ आयोनी राई प्रथम, जेनिश बिष्ट द्वितीय र रिजन खत्री तृतीय भए । 

नृत्यतर्फ श्रेया चौधरी प्रथम, रोशना चौधरी द्वितीय र स्मारिका सेडाईँ तृतीय घोषित भए । वर्षकै उत्कृष्ट विद्यार्थीका तर्फ माथिल्लो तहबाट आयोनी राई र कनिष्ठ तहबाट श्रृष्टिका सेडाईँ पुरस्कृत भए ।

कार्यक्रममा सुन्दरहरैंचामा पहिलो पटक विद्यालयमै ‘ओमेगा जम्प’ र तेक्वान्दोको विशेष प्रदर्शनी गरिएको थियो । 

विद्यार्थीहरूले मात्र नभई अभिभावकहरूले समेत नृत्य प्रतियोगितामा भाग लिएका थिए, जसमा तारा ओझा प्रथम, गंगा सुवेदी द्वितीय र भावना भण्डारी तृतीय भए ।

विविध सांस्कृतिक प्रस्तुति, गीत र नाटकले भरिएको सो कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ । 

कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

View : 86

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved