Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

‘कमिसन दिने, टुच्च लगाउने अनि मरिजा भन्ने’

उद्घोष सम्वाददाता
१४ माघ २०८०, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरहरूले कार्यालय प्रमुखलाई कमिसन दिने गरेको गुनासो गरेका छन् । उनले केही इन्जिनियरहरूमा कार्यालय प्रमुखलाई कमिसन दिने, बेलुका टुच्च लगाएर भ्रष्टचारी नेता मरिजा भन्ने प्रवृत्ति देखिएको गुनासो गरेका हुन् ।

नेपाल इन्जिनियरिङ एसोसिएसनको कोशी प्रदेश कार्यालय भवनको शनिबार उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले इन्जिनियरहरूमा नयाँ खालको प्रवृत्ति विकास भएको बताएका हुन् ।

‘अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुखकहाँ गएर ६० प्रतिशत कमिशन दिन्छु, डीपीआरको काम दिनू भन्दै मागेर त्यसबाट भएको फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरिजा भनेर समाजिक सञ्जालमा लेख्छन्’ मुख्यमन्त्री कार्कीले भने, ‘हावा र फोस्रा कुरामा लाइक र कमेन्ट गरेर समय बिताउनुभन्दा अब प्रदेश कसरी बन्छ, प्रविधिमा कसरी प्रदेश अघि बढ्छ भन्ने विषयमा सल्लाह र सुझाव दिनुस् ।’ 

उनले इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको औल्याएका छन् । मुख्यमन्त्री कार्कीले नेपालको शिक्षा कमजोर नभएको उल्लेख गर्दै भने, ‘नेपालको शिक्षा कमजोर छैन, गुगल फेसबुक नासालगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले गरेको योगदानलाई हेर्दा पनि थाहा हुन्छ ।’

प्रदेशका मुख्यमन्त्री कार्कीले उद्घाटन गरेको नेपाल इन्जिनियरिङ एसोसिएसन कोशी प्रदेशको कार्यालय भवन विराटनगरको वडा नं. १० तीनटोलिया कुमारी राइस मिलमा छ । उक्त भवन कोशी प्रदेश सरकारकै आर्थिक सहयोगमा बनेको हो । 

View : 166

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved