Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

झापामा सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत उत्पादन, ओलीले गरे उद्घाटन

उद्घोष सम्वाददाता
२३ माघ २०८०, मङ्गलवार

विराटनगर, २३ माघ । झापामा निजी क्षेत्रको लगानी प्रवर्द्धनमा कोशी प्रदेशको सबैभन्दा ठुलो सौर्य विद्युत आयोजना सञ्चालनमा आएको छ । झापा इनर्जी प्रालिले चार बर्ष अघिबाट सुरु गरेको १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजनाको निर्माण सम्पन्न भएर गत पुसदेखि परीक्षण उत्पादन भइरहेको थियो ।

आयोजनाको मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । झापाको शिवसताक्षी नगरपालिका– ४ मा करिव २१ बिगाहा जग्गाको क्षेत्रफलमा सौर्य विद्युत आयोजना निर्माण गरिएको हो । उक्त आयोजनाबाट उत्पादित विद्युत नेपाल नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जडान समेत भइसकेको जनाइएको छ ।

आयोजनाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले युवाहरूले जागिरे प्रवृत्ति त्यागेर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने बताए । उनले एक्लै नसके धेरैजना मिलेर सहकार्य गरेर पनि काम गर्न सकिने बताए । धेरै जना मिलेरै झापा इनर्जी प्रालिले सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको उनको भनाई थियो ।

‘एकैजनासँग ठुलो पूँजी नहुने भएकोले सहकार्यबाट पूँजी निर्माण गरेर ठूला आयोजना पनि सञ्चालन गर्न सकिने उदाहरण यहाँ छ’ ओलीले भने, ‘पानीबाट मात्रै विद्युत उत्पादन हुन्छ भन्ने कुरा होइन, घाम र हावाबाट पनि उत्पादन हुन्छ भन्ने पुष्टि भएको छ ।’

ओलीले नेपालमा हाइड्रोसँगै अरु धेरै ग्रीन इनर्जीको सम्भावना रहेको बताए । उनले नेपालमा अब हाइड्रोजन इनर्जीको सम्भावनाबारे काम गर्नुपर्ने बताए । नेपालमा विकास आवश्यक रहेको र विकास सहज पनि रहेको बताए ।

सरकारले देशमै केही गर्न सकिन्छ भन्ने देखाउन चाहने युवा उद्यमीहरूलाई स्टार्टअपमा पूँजी लगाइदिनु पर्ने बताए । त्यसैको आधार तयार गर्नका लागि आफू प्रधानमन्त्री भएको बेलामा युवाहरूलाई सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने व्यवस्थाको थालनी गरेको दाबी गरे ।

उक्त आयोजनाबाट उत्पादित सौर्य विद्युतलाई नेपाल विद्युत प्राधिकरणको शिवसताक्षीस्थित बोलो चोक सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाइएको छ । 

प्रतिनिधि सभा सदस्य एलपी साँवाको नेतृत्वमा ८१ करोड रुपैयाँको लागतमा झापा इनर्जी प्रालिले सौर्य विद्युत आयोजना सञ्चालनमा ल्याएको हो । आयोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकले ७५ प्रतिशत वित्तीय स्रोत व्यहोरेका छन् । बाँकी रहेको २५ प्रतिशत लगानी स्थानीयको सेयरबाट जुटाइएको झापा इनर्जी प्रालिका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए ।

परियोजना स्थल बोलो चोकबाट सबस्टेसनसम्म विद्युत पुर्‍याउन झापा इनर्जी प्रालि आफैँले ९ सय ६० मिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । सौर्य ऊर्जाबाट उत्पादित विद्युत खरिदका लागि झापा इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको जनाइएको छ । उक्त आयोजनाबाट प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले विद्युत खरिद गर्ने सम्झौता भएको जनाइएको छ ।

View : 243

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved