विराटनगर, १८ मंसिर : सीमावर्ती तथा औद्योगिक क्षेत्र विराटनगरको मिल्स एरियामा युवाले सञ्चालन गरेको एक क्लवले निस्वार्थ फुटबलका खेलाडी उत्पादन गर्दैछ । सरकारी लगानी बाहेकको क्लबको मेहनतमा ७० भन्दा बढी खेलाडीले नियमित प्रशिक्षण लिने गरेका छन् । मिल्स भेट्रान क्लवले बालबालिका तथा युवाहरुलाई अनुशासित बनाउने उद्देश्यले सो क्लवले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर प्रशिक्षण सञ्चालन गर्ने गर्छ ।
त्यसबाहेक विभिन्न प्रतियोगिताहरुमा सामेल गराउँदै आएको सो क्लबले विभिन्न उमेर समूहका करिब ७० खेलाडीहरुलाई नियमित फुटबलको प्रशिक्षण दिँदै आएको छ । निःशुल्क दिइने सो प्रशिक्षणमा सहभागी हुनेलाई जुत्ता, जर्सी तथा आवश्यक सामग्री पनि प्रदान गर्दै आएको क्लवका प्रशिक्षक रानु रानाले बताए ।
८ देखि १२ वर्षका ३५, १३ देखि १५ वर्षका २० र १६ वर्ष माथिका २० जना खेलाडीलाई क्लवले लगानी गरेर प्रशिक्षण दिंदै आएको छ– क्लबका टीम क्याप्टेनसमेत रहेका रानाले बताए । सो क्लवले ४० वर्ष माथिको उमेर समूहमा प्रदेशस्तरीय फुटवल प्रतियोगिता पनि गराउंदै आएको छ । यो समूहमा क्लब स्वयम् सशक्त टोलीका रुपमा सामेल हुने गर्छ ।
भारतीय सीमावर्ती क्षेत्रका मजदुरका परिवारमा युवा लागुऔषधमा फस्न सक्ने सम्भावना देखेर क्लवले प्रशिक्षण दिएर खेलप्रेमी बनाउँदै आएको क्लबका सचिव सुमित डंगोल बताउँछन् । उद्योगमा काम गर्ने मजदुरका बालबालिका खेल सामग्री खरिद गर्न सक्दैनन् । रुची भए पनि आर्थिक अभावले खेलकुदबाट बञ्चित हुनु पर्ने अवस्था छ ।
नजिकै जोगबनी बजार भएकाले लागुऔषधको कुलतमा लाग्न सक्ने उत्तिकै सम्भावना छ । यसखाले समस्यामा पर्न नदिन हामीले खेलकुदमा आकर्षित गर्दै आएको उनको भनाइ छ । दुई चार जनालाई निःशुल्क प्रशिक्षण दिने क्लवहरुले जस्तो यस क्लबले प्रचार पनि खोजेको छैन । खेलकुद सञ्चालन गर्न आर्थिक अभाव हुने भएकाले क्लबले बुधबारदेखि मिनी महोत्सवको आयोजना गर्दैछ ।
‘महोत्सवबाट हुने आम्दानी सबै फुटबल प्रशिक्षणमा लगाइने हाम्रो उद्देश्य छ’ क्लबका सदस्य एवं महोत्सव संयोजक मिलन थापा बताउँछन् । उनका अनुसार महोत्सवमा लाइभ कन्सर्ट, रोटे पिङ, महिलाहरुका हस्तकलाका सामग्री, सांस्कृतिक कार्यक्रम, खाद्य तथा मनोरञ्जनका स्टलहरु हुनेछन् ।
View : 166
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved