विराटनगर । नेकपा (एमाले) बाट चार वर्षअघि फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पनि सग्लो नरहने निश्चित भएको छ ।
बहुमत जुटाउन अन्तिम समयमा ८८ जना केन्द्रीय सदस्य थपेर अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु विपक्षमा उभिएका छन् ।
नेता खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरु एकता निर्णयको विपक्षमा उभिएसँगै एकीकृत समाजवादी फेरि विभाजित हुने निश्चित भएको हो ।
यो विभाजनसँगै कोशी प्रदेशका एकीकृत समाजवादीका नेताहरु पनि कोही माधव नेपालतिर अनि कोही झलनाथ–घनश्याम समूहतिर विभक्त देखिएका छन् ।
कोशी प्रदेशबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी तथा पदाधिकारी तहमा रहेकाहरुमध्ये वरिष्ठ नेता घनेन्द्र बस्नेत माओवादीसँगको एकतामा सहभागी नहुने भएका छन् ।
उपाध्यक्ष जगन्नाथ खतिवडा र उपमहासचिव राजेन्द्र राई माधव नेपालसँगै माओवादीसँग एकतामा सामेल हुने भएका छन् ।
सचिव बलदेव चौधरी अहिले अमेरिकामा रहेकाले उनी खुलिनसकेको नेताहरुले बताएका छन् । माधव नेपाल समूह र झलनाथ–घनश्याम समूह दुवैले सचिव चौधरी आफूहरुको साथमा रहेको दाबी गर्दै आएका छन् ।
कोशी प्रदेशसभामा रहेका चार सांसदहरुमध्ये राजेन्द्र राईबाहेक खिनु लङ्वा लिम्बू र विद्या चाम्लिङ राई पनि एकतामा सहभागी हुने भएका छन् ।
पाँचथरका सांसद कमल जवेगु खुलिनसकेको तर सांसदहरु सबै एकतामा सामेल हुने नेताहरुले बताएका छन् ।
‘अन्तिम समयमा ८८ जना केन्द्रीय सदस्य थपेर माधव नेपालले निर्णयमा बहुमत जुटाएपछि सांसदहरु दबाबमा परेका छन्,’ एकीकृत समाजवादीका एक नेताले भने ‘त्यसैले सांसद पद त्याग्ने अवस्थामा उनीहरु छैनन् ।’
कोशी प्रदेश अध्यक्ष सरिता खड्का पनि नेपालसँगै एकता प्रक्रियामा सहभागी हुने नेताहरुको भनाइ छ ।
पोलिटब्यूरो सदस्यहरु महेश रेग्मी, धर्म निरौला, अशेष घिमिरेलगायतका नेताहरु एकता प्रक्रियामा भाग नलिने भएका छन् ।
त्यस्तै केन्द्रीय कमिटीमा रहेका नेताहरु भवानी खापुङ, अर्जुन राई, चन्द्रा श्रेष्ठ, निलमणि बराल, निलम ढुंगेल, भीम बस्नेत, चिरञ्जीवी भट्टराई, सीता पौडेल, हरि काफ्लेलगायतका नेताहरु पनि माओवादीसँग एकतामा नजाने भएका छन् ।
यद्यपि प्रारम्भिक अवस्थामै रहेका कारण को कता लागेका हुन् भन्ने प्रष्ट भइसकेको छैन ।
‘अबको एक साताभित्र को कता भन्ने सबै प्रष्ट हुन्छ’, केन्द्रीय सदस्य रहेकी निलम ढुंगेलले भनिन् ‘एकतामा सहभागी नहुने पक्षमा केन्द्रीय कमिटीमा डेढ सय हाराहारी सदस्यहरु छौं ।’
एमालेबाट पार्टी विभाजन गरेपछि लगातार कमजोर बन्दै गएको पार्टीलाई चलाउनै नसकेको आरोप माधव नेपालमाथि थियो । पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएपछि नेपाल झनै दबाबमा थिए ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दामोदर अर्याल माधव नेपाल र प्रचण्डको व्यक्तिगत स्वार्थका लागि एकताको हतारो गरिएको बताउँछन् ।
उनका अनुसार माओवादी अध्यक्ष प्रचण्ड महाधिवेशन टार्ने उपायको खोजीमा थिए । उनको स्वार्थमा नेपाल सहायक बनेको उनको भनाइ छ ।
‘जेनजी आन्दोलनपछि पार्टीहरुको रुपान्तरण र पुनर्गठन अनिवार्य भनेका बेला अभियुक्तहरुले एकता गर्दैमा हामी जाने कुरा हुँदैन’, अर्यालले भने ‘प्रचण्ड आफैं सम्पत्ति शुद्धिकरणको छानबिनमा छन् ।
माधव नेपाल भ्रष्टाचार मुद्दामा, माओवादीका महरादेखि नन्दकिशोर पुनसम्म सुन तस्करीमा मुछिएका छन् । यसरी अभियुक्तहरुको एकता हामीले खोजेको होइन ।’
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको पंक्ति पार्टी पुनर्गठन र सांगठनिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए । यद्यपि केन्द्रीय समितिबाट बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन हुने भएको हो ।
झलनाथ–घनश्याम समूहले शनिबार काठमाडौंमा अलग भेला गरेको छ ।
भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित सयभन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थित रहेको दाबी सो समूहको छ ।
पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि एकीकृत समाजवादीमा नेतृत्व परिवर्तनको कुरा उठेको थियो ।
भ्रष्टाचार मुद्दा दर्ता भइसकेको अवस्थामा नैतिकताको आधारमा पनि माधव नेपालले अध्यक्ष छाड्नुपर्ने माग झलनाथ पक्षको थियो ।
जेनजी आन्दोलनपछि अन्य दलले नेतृत्व पुनर्गठनको प्रक्रिया अगाडि बढाएपछि पनि माधवलाई अध्यक्ष छाड्न दबाब बढेको थियो ।
उनले आफूलाई बचाउनका लागि पार्टी पुनर्गठनमा भन्दा माओवादीसँग एकता गर्ने प्रक्रिया अगाडि बढाएको झलनाथ पक्षको आरोप छ ।
View : 498
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved