Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

भ्रष्टाचारविरुद्ध नागरिक खबरदारी

उद्‌घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरङको समन्वयमा बुधबार विराटनगरमा अन्तरसंवाद सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगरका नागरिक समाज, सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वय एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिसँगको सहकार्यमा अन्तरसंवाद आयोजना गरिएको हो । कार्यक्रममा बढ्दो भ्रष्टाचार न्यूनीकरण, सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाह र नागरिकमैत्री कर्मचारी प्रशासनको विषय समेटेर प्राध्यापक कृष्ण पोखरेलले कार्यपत्र प्रस्तुतिकरण गरेका थिए ।

संविधानसभा सदस्य समेत रहेका नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले भ्रष्टाचार अन्त्यका लागि आफूभित्रकै आचरणमा सुधार आवश्यक रहेको बताए । उनले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण नागरिकहरूमा निरासा बढेको र त्यसैको परिणाम युवा शक्ति विदेश पलायन भइरहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भ्रष्टाचारै भ्रष्टाचार देखाएर पनि जनतामा अझ निरासा फैलिने भन्दै भइरहेका परिवर्तनहरूलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । उनले मुलुकमा केही राम्रो काम भएको छैन भनेर निरास हुन नहुने, आफूभित्रबाट सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

सार्वजनिक सेवा प्रवाहका क्षेक्रमा संलग्न व्यत्तिहरूलाई अझ बढी जवाफदेही बनाउँदै भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्ने अवस्थाको सिर्जना गर्न नागरिक निगरानी संस्थाले निरन्तर खबरदारी गर्ने संस्थाका अध्यक्ष भण्डारीले बताए ।्

View : 95

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved