विराटनगर । नेपाल सरकारले बिहीबार एकै साथ ४३ जना सहसचिवको सरुवा गर्ने क्रममा कोशी प्रदेशले तीन जना सहसचिव पाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मिंमास अधिकारीको सरुवा कोशी प्रदेशको योजना आयोगमा भएको छ ।
अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यालयमा रहने क्रममा अधिकारी यसअघि विराटनगर भन्सार कार्यालयका प्रमुख भइसकेका छन् । उनी विराटनगर–४ कञ्चनवारीकै हुन् ।
त्यस्तै प्रदेश लोकसेवा आयोगले पुरानै तीर्थप्रसाद धिताललाई सचिवको रुपमा पाएको छ ।
कोशी प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदीप वान्तवा आउने भएका छन् ।
उनी अरुणकुमार झाको ठाउँमा आउन लागेका हुन् । झाको संघीय सरकारको खानेपानी मन्त्रालय सरुवा भएको छ ।
सरकारले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको एकै साथ सरुवा गरेको हो । निकै लामो रस्साकस्सी बीच सहसचिवको सरुवा भएको बुझिएको छ ।
View : 168
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved