सुनसरी । सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा नेपाली बालिकालाई चिनियँ नागरिकसँग बिहे गराउने आठ जना पक्राउ परेका छन् ।
पक्राउ परेका आठमध्ये तीन जना चिनिया नागरिक छन् । उनीहरूलाई सुनसरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
धनकुटा छथर जोरपाटी–२ की १६ वर्षीया बालिकालाई औलिया बाबाको मन्दिरमा चीनको हुबेल स्थायी घर भएका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले गएको असोज ३० मा पक्राउ गरेको थियो ।
घटनाको अनुसन्धानकै क्रममा रहेकाले उनीहरूलाई ढिलो गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा किशोरीका बाबु, चिनिया नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शितल गुरूङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ र चिनियाँ नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ तथा वु हेजी छन् । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना अनुसार असोज ३० गते बुधबार अपरान्ह सुनसरी प्रहरीमा कसैले फोनमार्फत एउटा सूचना दिएको थियो ।
‘चतरास्थित औलिया बाबाको मन्दिरमा एकजना बालिकाको चिनिया नागरिकसित बिहे भइरहेको छ’, सूचनादाताले यसो भनेपछि सुनसरी प्रहरीको टोली मन्दिरतिर दौडियो । प्रहरी टोली त्यहाँ पुग्दा विवाहको सबै विधि पूरा भइसकेको थियो ।
अभिभावकको सहमतिमै बालिकाको सिउँदोमा चिनियाँ नागरिकले सिन्दुर हालिसकेका थिए । मन्दिरमा प्रहरी पुग्दा बेहुला–बेहुली विवाहको औपचारिक पोशाकमै थिए । प्रहरीले त्यहाँबाट बेहुलासहितका ८ जनालाई नियन्त्रणमा लिएको थियो ।
चिनियाँ नागरिकले नेपाली बालिकासित विवाह गरिरहेको खबर पाएपछि आफूले सुरूमै ‘मानव तस्करी’ पो हो कि भन्ने अनुमान गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।
‘तर अहिलेसम्मको अनुसन्धानले यो घटना ह्युमन ट्राफिकिङ होइन भन्नेमा हामी प्रष्ट भयौं’, एसपी तिम्सिनाले भने ‘तर उमेर नपुगेकी बालिकालाई विवाह गराएका कारण बालविवाहको कसुरमा उनीहरूलाई पक्राउ गरेर कारबाही र अनुसन्धान अघि बढाइएको छ ।’
तिम्सिनाका अनुसार विवाह भएकी बालिकाको गाउँकै एक जना महिलाले यसअघि नै चिनियाँ नागरिकसित विवाह गरेको र सोही परिवारको कुराकानीको आधारमा ती बालिकाको चिनियाँ नागरिकसग विवाह भएको पाइएको हो ।
‘उनका अनुसार ती गाउँले भिनाजु (चिनियँ नागरिक) परिवार र छोराछोरीसहित विवाहमा उपस्थित रहेछन्, विवाह चाहिँ गरिखाने हिसाबमै गरेको देखिन्छ’, तिम्सिनाले भने ‘तर नेपालीसँग चिनियाँहरूले विवाह गर्नुको कारण के रहेछ त्यसको कारण पनि हामी खोज्दैछौं ।’
View : 242
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved