विराटनगर । लेटाङ–३ का ३९ वर्षीय टीका गुरुङको लेटाङ मिलन चोकमा आफ्नै मोटरसाइकल ग्यारेज थियो । झण्डै ६ वर्ष निकै राम्रो चलेको ग्यारेज पछिल्लो समय भने कम चल्न थालेको थियो । व्यापार हुन छाडेपछि टीका ग्यारेज बेच्ने सोचमा पुगे । त्यही बेला एक गाउँले साथीमार्फत रुसी सेनामा जाने र राम्रो कमाइ हुने अफर आयो । विदेश जाने सोच बनाइरहेको समयमा टीकाले गत भदौमा गाउँकै साथीको सम्पर्कमा रूस जाने बाटो फेला पारे ।
‘तीन महिनाको तालिम हुन्छ । आएर तालिम लिइसक्दा त वार्ता भईवरी युद्ध स्थगित हुन्छ’ रूसमा रहेका गाउँकै साथीले टेलिफोनमा सुनाए, ‘जति धेरै रिस्क त्यति धेरै पैसा ।’
अभावले गर्दा दवावमा परेका उनले साथीको खातामा साढे सात लाख पठाए । अनि गत कात्तिक ४ गते दुबई हुँदै रूसका लागि हिंडे । रुस पुगेपछि भने टीका अहिले परिवारको सम्पर्कमा छैनन् । भाइ अनेशका अनुसार टीकालाई युद्धग्रस्त ठाउँ लैजाने भनेर क्याम्पबाट बाहिर लगिएको थियो । मंसिर २५ गते कुराकानी भएको र त्यसयता दाजुसँग सम्पर्क नभएको भाइ अनेश बताउँछन् ।
लेटाङ नगरपालिका–३ का ३३ वर्षीय विकास राई पनि नाबालक छोरा छोडेर गत भदौमा गाउँकै साथीको सम्पर्कमा रूस गएका थिए । टीकालाई जस्तै थोरै आर्मीको तालिमपछि राम्रो कमाइ हुने भन्दै रुसमा रहेका गाउँले साथीले लोभ्याएका थिए । राम्रो कमाइ हुने आशामा विकासले ८ लाख रुपैयाँ खर्च गरे । गत कात्तिक ४ गते दुबई हुँदै रूसका लागि उनी हिंडेको विकासकी आमा पञ्चकुमारी राई बताउँछिन् ।
‘सबैतिर दशैँको चहलपहल थियो, फूलपातीका दिन परिवारलाई छाडेर काठमाडौंबाट दुबई र त्यसपछि मस्को गएको थियो’ उनी भन्छिन्, ‘दुई महिनादेखि छोरोको खबर के हो थाहापत्तो छैन ।’ आमा पञ्चकुमारीका अनुसार उनका छोरा विकास डेढ महिनादेखि सम्पर्कविहीन छन् । उनीसँग मंसिर २५ मा कुराकानी भएको र त्यसपछि सम्पर्क नभएको आमा पञ्चकुमारीको भनाइ छ ।
युक्रेनी सेनाको कब्जामा रहेको भन्ने खबर आएको उनले गाइगुइ सुनेकी छिन्् । ‘छोरालाई युक्रेनी सेनाले पक्राउ गरेको छ रे, हामीले गाउँबाट खोजखबर गरेर कसरी सक्नु’ उनी दुखेसो पोख्छिन् ।
कात्तिक ४ मा काठमाडौंबाट रूसी सेना भर्ती हुन उडेका लेटाङ–२ का सुरज मंग्राती केही दिनअघि घाइते झएको खबर आयो । रूस र युक्रेन युद्धका त्रममा युक्रेनी सेनाको गोली लागेर सुरज घाइते भएको अपुष्ट खबर आएको लेटाङ नगरपालिका–२ का वडाध्यक्ष तेजप्रसाद तिमल्सिना बताउँछन् । सुरजले एक अडियो सन्देशमा आफूलाई गोली लागेको र अस्पतालमा उपचाररत रहेको भनेका छन् । उनले त्यहाँबाट निकाल्न अनुरोध पनि गरेका छन् ।
टीका, विकास र सुरजजस्तै छोटो समयमै राम्रो कमाइ गर्ने सोच बोकेर अबैध बाटोमार्फत रुस पुग्ने र त्यहाँको सेनामा भर्ती हुने युवाको संख्या लेटाङ नगरपालिकामा दुई दर्जनको हाराहारीमा छ ।
विभिन्न व्यवसाय गरिरहेका थुप्रै युवा रुस–युक्रेन युद्ध शुरु भएयता भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेर रूसी सेनामा भर्ती भएको पाइन्छ । स्थलगत रिर्पोटिङका लागि लेटाङ पुग्दा स्थानीय र उनीहरूका आफन्तका अनुसार लेटाङका मात्र दुई दर्जनको संख्यामा त्यहाँका युवा रूसी सेनामा गएका छन् । त्यसमा पनि एक दर्जको हाराहारीमा वडा नं ३ का युवा रहेको बताइन्छ । तर धेरैले अबधै रुपमा भारतको हावाइमार्ग प्रयोग गरेर युवाहरू रुसी सेनामा भर्ती हुन त्यहाँ पुगेकाले परिवार र स्थानीय वासिन्दा त्यसबारे खुल्न चहदैनन् ।
रोजगारीका लागि जोखिमपूर्ण क्षेत्रमा सुरक्षाकर्मर्कीा रुपमा रुस पुगेका आफन्तले बेपत्ता र घाइते आफ्ना छोरा भाइलाई तत्काल उद्धार गर्नका लागि नेपाल सरकारसँग याचना गरिरहको छन् । गएको मंसिर २५ गतेदेखि सम्पर्बविहीन भएका छोरा विकासलाई कसै गरी भए पनि स्वदेश फर्काउन उनकी आमा पञ्चकुमारी विभिन्न व्यक्तिसँग हारगुहार गर्दै आएकी छिन् ।
यस्तै घाइते अवस्थामा रहेका भनिएका सुरजले अडियो पठाएर घर फर्किन चाहेको बताएका छन् । सुरजकी दिदी पनि भाइलाई फर्काउन पहल गरिदिन सरकारलाई आग्रह गरिरहेकी छन् । यसका लागि परराष्ट्र मन्त्रालयमा उनले ज्ञापनपत्र पनि दिएकी छन् । ‘घरमा वृद्ध आमाबुबा छन्, भाइलाई उता बंकरमा राखिएको छ’ दिदी भीमा भन्छिन्, ‘लहैलहैमा गइहाल्यो । अहिले रूसी सेनाले यातना दिइरहेको छ । घर फर्काउन सरकारले पहल गरिदिनुपर्यो ।’
यता आफ्नो नगरबाट कति जना मानिस त्यहाँ गए भन्ने तथ्याङ्क लेटाङ नगरपालिकासँग छैन । मेयर भूपेन्द्रकुमार लावती केही युवा रूसी सेनामा गएको भन्ने सुनेको बताउँछन् ।
लेटाङका १८ जना युवा रूसी सेनामा गएको भन्ने चाहिँ आफूले सुनेको उनले बताए । उनी उद्धार वा खोजी कार्यका लागि भनेर आधिकारिक रूपमा नगरपालिकामा निवेदन पनि अहिलेसम्म नआएको बताउँछन् ।
‘हामीले पनि मिडिया र सामाजिक सञ्जाल मार्फत रुसी सेनामा लेटाङका धेरै युवा गएको भन्ने सुनेको हो’ मेयर लावती भन्छन् ‘अब नगरपालिकाको आफ्नै संयन्त्र प्रयोग गरी त्यस्ता युवाहरूको लगत तयार पर्ने काममा हामी अघि बढ्ने छौं ।’ त्यसपछि उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्ने काम अघि बढाइने मेयर लावतीले बताए ।
रूस पुगेर सेनामा भर्ती भएका चार जना लेटाङका युवा हालै मात्र नेपाल फर्किएका छन् । लेटाङ–३ का ३२ वर्षीय मनसेर राई र छत्र मगर हालै फर्किएका हुन् । त्यसपछि पनि थप दुई जना स्वदेश फर्किएको मनसेर राई बताउँछन् ।
उनका अनुसार भारतको दिल्ली हुँदै दुबई र त्यसपछि मस्को पुगेर रूसी सेनामा जानेहरूले पाँचदेखि नौ लाख रुपैयाँसम्म दलाललाई बुझाउने गरेका छन् ।
दुई सन्तान, श्रीमती र वृद्धावस्थाका आमाबुबालाई छोडेर रूस पुगेका मनसेर सेनामा अडिन नसकेपछि नेपाल फर्किएका हुन् । तीन महिनाको तालिम भनिए पनि १५ दिनको सामान्य अभ्यासका भरमा युद्धग्रस्त ठाउँमा लाने तयारीका साथ मस्कोबाट क्याम्पमा सारिएको उनी बताउँछन् । क्याम्पबाट युद्धग्रस्त क्षेत्र लग्दै गर्दा मनसेरलाई आफ्नो देश र परिवारको मायाले सतायो ।
त्यसपछि उनी युद्धग्रस्त क्षेत्र नगई भागेको बताउँछन् । उनी मस्कोबाट अजरबैजान, त्यसपछि दिल्ली हुँदै नेपाल फर्किए । मनसेर आफू मात्रै फर्किएनन्, गाउँका केही युवालाई सम्झौतामा हस्ताक्षर नगर्न भने । जोखिम धेरै हुने भन्दै सम्झाइबुझाइ गरेपछि चार जना चाहिँ आफूसँगै फर्किएको उनी बताउँछन् ।
रुस–युक्रेन युद्धमा अहिलेसम्म रुसी सेनामा भर्ना भएका १० जना नेपालीको मृत्यु भइसकेको छ । जसमा कोशी प्रदेशको इलामका गंगाराज मोक्तानको केही समयअघि मृत्यु भएको थियो ।
View : 152
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved