विराटनगर । दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई दोस्रो खेलमा फराकिलो रनमा पराजित गर्दै युनिटी कप टी-२० कपको उपाधि जितेको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८३ रनमा अलआउट भयो ।
यो जितसँगै नेपालले एक खेल अगावै युनिटी कपको उपाधि जितेको छ ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए पनि बाँकी कोही पनि नेपाल सामू हाबी हुन सकेनन् ।
नेपालका लागि आदिल आलमले ४ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए । तीन वर्षपछि खेलमा फर्किएका आदिलले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
त्यस्तै कुशल भुर्तेलले ३ विकेट लिए । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले पनि महत्वपूर्ण १-१ विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खडा गरेका थिए ।
आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाएर खेललाई वेस्ट इन्डिजको टाउको दुखाई हुने योगफल तयार पारेका थिए ।
नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारेका थिए ।
नेपालले शुक्रबार पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक जित हासिल कायम गरेको थियो । यो जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ । तर नेपालले अन्तिम खेल भने खेल्नुपर्नेछ ।
View : 365
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved