Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस–एमाले नमिली स्थिरता आउँदैन: डा शेखर

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस र एमाले नमिली मुलुकमा राजनीतिक स्थिरता नआउने दाबी गरेका छन् । उनले राजनीतिक अस्थिरताकै कारण केन्द्रदेखि प्रदेशका सरकारहरु फेरिइरहने अवस्था आएको बताए । अब फेरी कसको कसको सरकार बन्ने भन्न नसकिने अवस्था आइसकेको कोइरालाले बताए ।

मोरङ व्यापार संघको ६७औं साधारण सभाको उद्घाटन अवसरमा बोल्दै नेता डा कोइरालाले विद्यमान निर्वाचन प्रणालीले गर्दा सरकारहरु बदलिइरहने अवस्था बनेको भन्दै त्यस्तो निर्वाचन प्रणाली बदल्न कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिएका हुन् ।

‘भोलि कसको सरकार बन्ने भन्ने कुरा भन्न सकिंदैन, अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत आउँदैन, यो निर्वाचन प्रणालीलाई सुधार गर्न हामी सक्छौं कि सक्दैनौं ?’ उनले भने, ‘हिजो संविधान जारी गर्दा पनि अन्तिममा कांग्रेस एमाले एक ठाउँमा उभिएर बनेको हो, अब निर्वाचन प्रणाली बदल्न पनि कांग्रेस एमाले मिलेर नै दुईतिहाई दिन सकिन्छ ।’

मुलुकको स्थिरताका लागि सरकारहरु पनि स्थिर हुनुपर्नेमा उनले जोड दिए । राजनीतिक स्थिरता नभई आर्थिक विकास सम्भव नभएको बताए । कांग्रेस–एमाले मिलेर निर्वाचन प्रणालीलाई मिलाउनु पर्ने उनको धारणा थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपालमा मात्रै नभई विदेशमा पनि धेरै कुरा योजना अनुसार नहुने गरेको तर्क गरे । तर अहिले नेपालको अर्थतन्त्रको सन्दर्भमा भने सवै कुरा निराशाको मात्रै कथा बनाएर प्रस्तुत गर्न नहुनेमा जोड दिए । रिजालले समेत राजनीतिक स्थिरता आवश्यकता रहेको बताए । 

‘प्रधानमन्त्री र मन्त्रीकै पनि आफ्नो रोजगारी निश्चित छैन भने उसले कसरी अरुको रोजगारीको कुरा गर्न सक्छ ?’ रिजालले भने ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले उद्योगी व्यवसायीहरुलाई समेत सरकारले साथ लिएर हिंड्नुपर्ने बताए । उनले राष्ट्रिय पूँजीको निर्माण नभई मुलुकको समृद्धि नहुने बताए ।

नेपालमा धार्मिक पर्यटनका माध्यमबाट दैनिक एक विदेशी नागरिकलाई नेपाल भ्रमण गराउन सकिनेतर्फ सरकारहरुको ध्यान जानुपर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले सरकारले जनतामा विकासको विश्वसनियता बढाउन नसकेको बताए । त्यसका लागि बलियो सरकारी नीति आवश्यक रहेको बताए । ढकालले खुल्ला सीमा क्षेत्रबाट हुने गरेको अवैध चोरी तस्करी नियन्त्रण गर्नुपर्ने बताए ।

संघका अध्यक्ष रिजालले भने साधारण सभाका अवसरमा मुलुकको आर्थिक क्षेत्रलाई विम्बित गर्दै ८ वटा बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको, आधुनिक खेतीको विकास नभएको, सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता नदिएको, उद्योगहरुलाई खपत अनुसार विद्युत अपुग भएको, न्यून विकास खर्च भएको तर परियोजनाको भुक्तानी भने नभएको, शिक्षाका लागि युवा शक्ति विदेश जाँदा २५० अर्ब रकम बाहिर गएको बताए । 

त्यसैगरी आर्थिक बर्ष २०८०–८१ मा मध्यम र ठुला गरी ६२ वटा मात्रै उद्योगहरु दर्ता भएको र भएका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सीमापारबाट अनियन्त्रित चोरी पैठारी नरोकिएको, उत्पादनको उपभोग गर्ने ठुलो जनशक्ति बिदेशिनु परेको, लगानीकर्ताहरुका लागि लगानीको माहौल तयार नभएको लगायतका बिषयमा संघको तर्फबाट धारणा राखेका हुन् ।

साधारण सभामा सार्क चेम्बर्स अफ कमर्शका पूर्व अध्यक्ष चण्डीराज ढकाल, मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजू र प्रकाश मुन्दडा, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतले शुभकामना दिएका थिए । उनीहरुले संघको गतिविधिलाई अझ बढाउँदै लैजानका लागि आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न समेत आग्रह गरेका थिए ।

साधारण सभाका अवसरमा समाजसेवी दिनबन्धु गोयलसहित समाज विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका पेशा व्यवसायका आधा दर्जनलाई सम्मान गरिएको थियो ।

View : 185

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved