Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि सेवा आयोगको अध्यक्षमा प्राडा अधिकारी र सदस्यमा लामा नियुक्त

उद्‌घोष संवाददाता
६ माघ २०८२, मङ्गलवार

विराटनगर ।  पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयका सहकुलपतिको सिफारिसमा कुलपतिले  रिक्त रहेको पूवि सेवा आयोगको अध्यक्ष पदमा प्राडा देवेन्द्र अधिकारी र सदस्य पदमा प्रा सुमी लामालाई नियुक्त गरेको छ ।

गत माघ ४ गते गरिएको यो नियुक्तिसँगै विश्वविद्यालयको एक महत्त्वपूर्ण निकायले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीहरूको कार्यकाल चार वर्षको रहनेछ ।

प्राज्ञिक क्षेत्रबाट प्रतिनिधित्व नवनियुक्त अध्यक्ष प्राडा अधिकारी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा लामो समयदेखि प्राध्यापनरत छन् । उनी बौद्धिक र अनुभवी प्राज्ञिक व्यक्तित्वका रूपमा परिचित छन् । त्यस्तै, सदस्य पदमा नियुक्त प्राध्यापक लामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  कार्यरत छिन् ।
 विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गराएपछि उनीहरूले औपचारिक रूपमा कार्यभार सम्हाल्ने विश्वविद्यालय स्रोतले जनाएको छ ।

आयोगको संरचना पूर्वाञ्चल विश्वविद्यालयको नियमानुसार सेवा आयोग तीन सदस्यीय हुन्छ । जसमा विश्वविद्यालयको सिफारिसमा नियुक्त एक अध्यक्ष र एक सदस्य तथा लोकसेवा आयोगका एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

विश्वविद्यालयमा लामो समयदेखि रोकिएका पदपूर्ति, बढुवा र जनशक्ति व्यवस्थापनका कामहरू अब नयाँ नेतृत्वको आगमनसँगै अघि बढ्ने विश्वास लिइएको छ । प्राज्ञिक क्षेत्रमा स्वच्छ छवि बनाएका अधिकारी  र लामाको नियुक्तिलाई विश्वविद्यालय वृत्तमा सकारात्मक रूपमा हेरिएको छ ।

View : 1256

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved