Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

श्रीमानको कुटाइबाट सविता सिकिस्त

उद्‌घोष संवाददाता
११ फागुन २०८२, सोमवार

विराटनगर । मोरङको जहदा–४ सोहोल निवासी सविता मण्डल घरेलु हिंसामा परेर सिकिस्त भएकी छन् । 

उनलाई माइतीले उद्धार गरेको छ । श्रीमान् अमित मण्डलसहित परिवारका सदस्यहरूले बिहीबार राति मुखमा कपडा कोचेर कुटेको पीडितको भनाइ छ । 

सविताका माइतीले पीडकहरूलाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । 

न्याय माग्दै शुक्रबार र आइतबार पीडितका माइती पक्ष जिल्ला प्रहरी कार्यालय मोरङमा धाएका छन् ।

छिमेकीले थाहा पाउँछन् भनेर परिवारका सदस्यहरूले सविताको मुखमा कपडा कोचेर आवाज बन्द गरि कुटपिट गरेको बहिनी मधुकुमारी मण्डलले बताइन् । 

उनका अनुसार, कुटपिटबाट सविताको नाकको हड्डी भाँचिएको बताइएको छ ।

सविताका नातेदार दाजु अमितकुमार सिंहका अनुसार, सबिता र अमित आपसमा मन पराएर विवाह गरेका थिए । प्रेम विवाह भएखपनि अमितले दाइजो पनि लिएका थिए । 

दुई छोरी भएपछि अमितले सवितासँग सम्बन्ध बिच्छेद गर्न खोजे । त्यही कारण घरमा उनलाई कुटपिट हुन थालेको बताइएको छ ।

‘५, ६ पटक त वडा, प्रहरी चौकी र गाउँपालिकामा छलफल र मिलापत्र पनि भेसकेको छ’ सिंहले भने– ‘एक पटक घरबाटै निकालिएको थियो, सविता सिलाइ–कटाइको काम गरेर सानो बच्चा पाल्दै थिइन् ।’ 

पछि स्थानीयले पुनः मिलापत्र गराएर सवितालाई घर भित्राएको उनको भनाइ छ ।

बिहीबार राति अमित घर बाहिर थिए । साढे १० बजे घर पुगेर श्रीमतीलाई दाजु, भाइ र आमाबाबुको सहयोगमा कुटपिट गरेको सिंहले बताए । 

राति ११ बजेतिर बेहोस भएकी सविता बिहानीपख ३ बजे ब्युँतिएकी थिइन् । 

उनले माइतीमा फोन गरेर जानकारी गराइन् । उनी ब्यूँतदा रगतले अनुहार ढाकेको थियो । 

रगतले छोपेको अुनहारसहित उनलाई अस्पताल लगिएको थियो । बिहानै माइतीले उनको उद्धार गरे पनि आरोपीहरू कानुनी दायरामा आउन सकेका छैनन् । 

निर्वाचनका कारण आरोपीलाई तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले पीडित पक्षलाई बताएको छ । 

‘माइती पक्ष गरिब छन्, सविताको उपचार गराउन सक्ने छैनन्, प्रहरीले पीडकलाई दवाब दिएन भने उनको नाकमा समस्या बढ्न सक्छ’ आफन्त मनिष मण्डलले भने ‘रकम अभावले उनको अस्पतालमा राखेर उपचार हुन सकेको छैन ।’

View : 111

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved