विराटनगर : बुधबार विराटनगर महानगरपालिका–७ स्थित सातघुम्ती रोडसँगैको एउटा कवाडी पसलमा आगलागी हुँदा दुईजनाको मृत्यु समेत भयो ।
कवाडीमा आगलागी हुने वितिक्कै स्थानीय प्रत्यक्षदर्शीहरुले महानगरपालिकामा दमकलका लागि फोन गरेको बताए । तर फोन गरेर आगलागी भएको जानकारी गराएको ४५ मिनेटपछि मात्रै विराटनगर दमकल आइपुगेको उनीहरुले दाबी गरे ।
उनीहरुले फोन गरेको समय र दमकल आइपुगेको समय देखाउँदै महानगरपालिकाको दमकल आउन निकै ढिलाइ भएको दाबी गरे । स्थानीयले दमकलको पानी एकैछिनमा सकिएकोले आधा पानी लिएर आएको आरोप समेत लगाए ।
कवाडीमा दनदनी आगो लाग्दा त्यहाँका मालवस्तुमात्रै जलेनन्, दुईजनाको ज्यान नै गयो । छरछिमेकका घरमा समेत क्षति पुग्यो ।
तर दमकलका कर्मचारीहरुले भने आगलागीको जानकारी पाउनेवितिकै गएर आगो निभाउन सुरु गरेको दाबी गरे । आगलागी हुनेबितिकै पाँच हजार लिटर पानी बोक्ने क्षमताको एउटा दमकल तुरुन्त परिचालन गरिएको दमकल शाखाका एक कर्मचारीले जनाए । उनले एउटा दकमल आएर तीनतिरबाट पानी हालियो‚ जसका कारण पानी छिटै सकिएको जानकारी दिंदै आधा मात्रै पानी बोकेर आएको आरोप पनि गलत भएको दाबी गरे ।
‘आगो लागेको जानकारी पाए लगत्तै दमकल आएर दुईवटा पाइप र दमकलको माथिल्लो भागबाट पानीको फोहोराले आगो नियन्त्रणको प्रयास गरिएको हो‚’ उनले भने, ‘आगलागीबाट कवाडी नजिकै रहेका तीनवटा घरमा समेत क्षति पुगेको छ । सबैतिर पानी हाल्नुपर्ने भएकोले दमकलको पानी छिटो सकिन्छ, अनि छेउछाउबाट रमिता हेर्नेहरुले आधा पानी लिएर आएको भन्दै हल्ला गरिदिन्छन् ।’
विराटनगर महानगरपालिकामा हाल तीनवटा दमकल चालु अवस्थामा छन् । दुईवटा दमकल ५/५ हजार लिटर क्षमताका छन् । एउटा तीन हजार लिटरको छ । तीनवटै दमकल विराटनगर–३ स्थित मानगढ खानेपानीमा पानी भर्ने सुविधासहित राखिंदै आएको छ ।
सातघुम्तीको आगलागी नियन्त्रणका लागि सुन्दरहरैंचा नगरपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका र बेलबारी नगरपालिकाबाट समेत दमकलहरु आएर मद्दत पुर्याएका थिए ।
आगलागी नियन्त्रणमा विराटनगरबासीसहित नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटिएका थिए । झण्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।
View : 268
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved