विराटनगर । शिशु सेवा समिति विराटनगरको ४२ औं बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका चारजनालाई शनिबार पुरस्कृत गरेको छ ।
विराटनगर–२ स्थित सनातन सामुदायिक सेवा भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय आदर्श आमा पुरस्कार २०८२ बाट सुनसरीको प्रकाशपुर निवासी आमा भेषकुमारी दाहाललाई प्रदान गरिएको हो ।
१५ हजार १०१ रुपैयाँ राशिको सो पुरस्कार प्राप्त गरेकी दाहालले अत्यन्तै दुःख र चरम आर्थिक अभावका वावजुद पनि आफ्ना छोरालाई शिक्षा प्रदान गरी समाज र राष्ट्रमै पहिचानयोग्य बनाउन सफल भएको स्वरुप प्रदान गरिएको छ ।
समितिले ‘बाल साहित्य पुरस्कार’ विराटनगरका बाल साहित्यकार भवानीप्रसाद पोखरेल, ‘शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कार २०८२’ निसहाय वाल सेवा आमश्रम इटहरीमा आश्रित ७ वर्षीया रागिनी गौतम र शिशु सेवा पत्रकारिता पुरस्कार उद्घोष दैनिकका संवाददाता बाबुराम भण्डारीलाई प्रदान गरेको हो । पुरस्कारको राशि जनही ११ हजार १११ रुपैया“ छ ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीसहित समाजका सभापति कविराज न्यौपाने, सल्लाहकार मञ्जु रिजाल लगायतले पुरस्कृतहरूलाई नगद राशिसहित माला र सम्मानपत्र प्रदान गरेका थिए ।
मन्त्री पराजुलीले सनातन् धर्मको रक्षाका लागि आफूले सँधैभरी सहयोग गर्ने बताए ।
उनले आफूले प्राप्त गर्ने कुनै पनि सेवा सुविधालाई परोपकार र समाजकै लागि समर्पित गर्दै अघि बढेको बताए ।
कार्यक्रमका अवसरमा शिशु सेवा समितिको साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।
साधारणसभाबाट समितिको सभापतिमा कविराज न्यौपाने पुनः चयन भएका हुन् । उपसभापतिमा पदमा रिजाल र डा. भेषप्रसाद धमला, सचिवमा धर्मराज भट्टराई, सहसचिवमा पुष्पलता कोइराला र कोषाध्यक्षमा शोभा पोखरेल चयन भएका छन् ।
सदस्यहरूमा कनुलाल चौधरी, पुण्यप्रसाद दाहाल, डा सम्झना प्रधान, सरिता कोइराला रेग्मी, स्वयम्भू कार्की, रोमप्रसाद धमला, सावित्रा पराजुली धमला, रिता रेग्मी र ज्योती रिजाल सर्वसम्मत चयन भएको सचिव भट्टराईले जानकारी दिए ।
समितिका अध्यक्ष न्यौपानेका अनुसार ४२ बर्ष अघि स्वर्गीय शान्ता पोखरेलको तत्कालिन कोशी अञ्चल अस्पतालको बालबालिका वार्डमा रहेका शिशुहरूको उपचारमा सहयोग गर्दै संस्थाको स्थापना गरेको स्मरण गरे ।
उनै समाजसेवी पोखरेलको १३ औं स्मृतिमा संस्थाले विभिन्न कार्यक्रमसमेत गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा प्राडा मेदिनीप्रसाद शर्मासहित सामाजिक अगुवा, सर्जक, समाजसेवी लगायतको उपस्थिति थियो ।
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved