विराटनगर । मारवाडी सेवा सदनले स्थापनाको २५ औं बार्षिकोत्सव तथा रजत जयन्ती मनाएको छ । विराटनगर–७ शनिहाटमा बुधबार आयोजित रजत जयन्ती कार्यक्रममा रजत मण्डप उद्घाटन गर्नुका साथै रजत जयन्ती स्मारिका विमोचन गरिएको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले रजत मण्डप उद्घाटन गरेका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले मारवाडी सेवा सदनले कोभिड १९ को समयमा सामाजिक जिम्मेवारी बहन गरेर महत्वपूर्ण कार्य गरेको बताए । उनले आगामी दिनमा समेत निस्वार्थ रूपमा सामाजिक सेवामा समर्पित हुन आग्रह गरे ।
सोही अवसरमा मारवाडी सेवा समितिका पूर्वअध्यक्षसहित संस्थापक समितिका सदस्यहरूलाई सम्मानित गरिएको छ ।
संस्थापक अध्यक्ष देवेन्द्रकुमार राजगडिया, पूर्वअध्यक्षहरू सुरेशकुमार शर्मा, ताराचन खेतान, देवकीनन्दन अग्रवाल तथा संस्थापक सदस्यहरू खेमचन जैन, नन्दकिशोर राठी, महेश सिंघानियालाई सम्मानित गरिएको छ ।
त्यस्तैगरी, पूर्वअध्यक्ष स्व.महावीर तोदी, स्व.जगदीश राठी र संस्थापक सदस्य स्व.महेन्द्र गोल्छालाई मरणोप्रान्त सम्मानित गरिएको हो ।
मारवाडी सेवा सदनको भवनसँगै जोडिएको रजत मण्डप निर्माणले मारवाडी समुदाय र विराटनगरका विभिन्न क्षेत्रका लागि कार्यक्रम गर्न सहज भएको अध्यक्ष नन्दकिशोर राठीले बताए ।
उनले मारवाडी समुदायले सानो कार्यक्रम गर्न त्रिपाल राख्नुपरे दुई लाख रूपैयाँसम्म खर्च हुने गरेकोमा अब २५ हजार रूपैयाँमा उक्त मण्डप प्रयोग गर्न सकिने जानकारी दिए ।
उनले ९८ फिट लामो र ३७ फिट चौडाई भएको आधुनिक सुविधायुक्त रजत मण्डपको निर्माण भएपश्चात विवाह, ब्रतबन्ध, सभा, गोष्ठी, धार्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गर्न सहज हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष राठीले ‘सेवा नै धर्म हो’ भन्ने आदर्श र ‘परोपकार पुन्याय पापाय परमीडनम्’ भन्ने सनातन जीवनदर्शनलाई आत्मसात् गर्दै विराटनगरको मारवाडी समाजले निस्वार्थ रूपमा मानवसेवामा समर्पित भइरहेको बताए ।
साथै, मारवाडी समाजको भावी पुस्ताले पनि अग्रजहरूको आदर्श सेवाभाव, निष्ठा र समाज कल्याणको भावनालाई जागृह गराइरहने विश्वास लिएको बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, ताराचन खेतान, जानकी सेवा सदनका अध्यक्ष सुधीर तोदी लगायतले शुभकामना दिएका थिए ।
View : 120
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved