विराटनगर । विराटनगर–८ स्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयका २४ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन् । सोही विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्व. ज्वला पोखरेलको स्मृतिमा स्थापित ज्वला–शोभा पोखरेल अक्षयकोष छात्रवृत्ति कार्यक्रम अन्तरगत कक्षा १ देखि ८ सम्मका २४ जना विद्यार्थीहरूलाई शुक्रवार छात्रवृत्ति प्रदान गरिएको हो ।
अक्षयकोषका दाता सदस्य केशव पोखरेल र विष्णु पोखरेलसहित परिवारका सदस्यहरूको उपस्थितिमा यस वर्ष प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले जनही क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्राप्त गरेका छन् ।
छात्रवृत्ति रकम सोही वडाका वडाध्यक्ष राम पोखरेलसहित परिवारका सदस्यहरूले वितरण गरेका छन् । वडाध्यक्ष पोखरेलले समाजमा केही गर्नुपर्छ भन्ने भावनाका साथ पोखरेल परिवारले छात्रवृत्ति स्थापना गरी वितरण कार्य सुरु गरेको भन्दै प्रशंसा गरे । उनले स्व.ज्वला पोखरेलले विगतमा वडाको विकास र सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा समेत गरे । स्व. पोखरेलले जस्तै समाजमा सबैले सम्झिने गरी केही काम गर्नुपर्नेमा उनले जोड दिए ।
विद्यालयका प्रधानाध्यापक चक्र प्रसाद पोखरेलले अक्षयकोषका दाता परिवारले विद्यालयको समग्र विकासमा समेत महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको बताए । उनले उपस्थित अभिभावकहरूलाई प्राप्त गरेको छात्रवृत्ति रकम विद्यार्थीहरूको पठनपाठनकै लागि खर्च गरिदिन आग्रह गरेका थिए ।
अक्षयकोष स्थापनाकर्ता एवं स्व. ज्वला पोखरेलका छोरा विष्णु पोखरेलले परिवारको तर्फबाट सामाजिक कार्यमा सानो प्रयासको थालनी गरेको बताए । उनले स्वर्गीय भएका आमाबाबु र समाजबाट समेत आशीर्वाद प्राप्त हुने अपेक्षाका साथ अक्षयकोष स्थापना गरी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्य अघि बढाएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर दाहालको अध्यक्षतामा आयोजित छात्रवृत्ति रकम वितरण कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरूसहित दाता परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।
View : 209
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved