Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पाँचथर दुर्घटना: अझै हुन सकेन मृतकको सनाखत

उद्‌घोष संवाददाता
१८ असोज २०८२, शनिवार

 विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार दिउँसो ६ जनाको ज्यान जाने गरि भएको बोलेरो  दुर्घटनाका मृतकको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका ६ जनाको भने पहिचान खुलेको छ।" मृतकको सनाखत भैसकेको छैन, आफन्तहरु खोज्ने क्रम जारी छ," पाँचथर प्रहरी प्रमुख डिएसपी अनिशकुमार कर्णले भने।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे.१ ज.३०५५ नम्बरको बोलेरो गाडी तमोर करिडोर सडकखण्डमा पुग्दा अनियन्त्रित भई करिब ३०० मिटर तल तमोर खोलाको किनारमा खसेको थियो। गाडीमा सवार १२ जनामध्ये घटनास्थलमै तीन  महिला र तीन पुरुष गरी छ  जनाको मृत्यु भएको  थियो। तीन जनाको शव जिल्ला अस्पताल पाँचथर ल्याइएको र बाँकी तीन जनाको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका पाँच जनालाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र एक जनाको  जिल्ला अस्पताल फिदिममा उपचार भैरहेको छ। बीपी प्रतिष्ठानमा उपचाररत घाइतेहरुमा ताप्लेजुङ मेरिङ्देन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्लाखोला–४ की २५ वर्षीया मनु सावा लिम्बू, कालीखोला निवासी ७ वर्षीय अनिश लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ र ताप्लेजुङ मेरिङ्देन–५ का २५ वर्षीय बिमल लिम्बुू छन्।

उनीहरूमध्ये मनु सावा लिम्बू र बिमल लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, जिल्ला अस्पताल पाँचथरमा मिक्लाखोला–४ का करिब ३० वर्षीय संजोहाङ लिम्बूको उपचार भइरहेको छ। उनको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको र खुट्टा तथा शरीरका विभिन्न भागमा चोट पुगेको प्रहरीले बताएको छ।

View : 273

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved