विराटनगर । एक वर्षका ३६५ मध्ये कुन दिन सबैभन्दा धेरै अपराध हुन्छ होला ? त्यस्तो कुन महिना वा बार होला जतिबेला सबैभन्दा धेरै आपराधिक घटना घटित हुन्छ होला ? सम्भवतः आम मान्छेको दृष्टिले यो मसिनो कुरामा ध्यान नपुर्याएको हुनसक्छ । यद्यपि अपराधशास्त्रका अनेकौं विधि प्रयोग गरेर विभिन्न घटनाहरुको अनुसन्धान गर्ने प्रहरीको निष्कर्षले भने धेरैजसो अपराध हुने समय, बार र महिना एकै हुने देखाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले पछिल्लो तीन वर्षको अपराध तथ्यांक केलाएपछिको निष्कर्ष अनुसार कोशी प्रदेशका १४ जिल्लामा सबैभन्दा धेरै अपराधका घटना असार महिनामा भएको देखाउँछ । त्यसमा पनि सबैभन्दा धेरै अपराध बुधबार र बिहीबार भएका छन् ।
दिउँसो १२ बजेदेखि साँझ ६ बजेको समयमा यस्ता घटना प्रदेशमा सबैभन्दा धेरै भएको अध्ययनले देखाएको छ । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०७९–८०, २०८०–८१ र भर्खरै बितेको आर्थिक वर्ष २०८१–८२ का अपराधहरुको अनुसन्धान गर्दा यस्तो निष्कर्ष निस्केको हो ।
अघिल्लो वर्षको साउनदेखि गएको असार अन्तिमसम्मको १२ महिनाको अवधिमा कोशीका १४ जिल्लामा ९ हजार ४ सय ६१ वटा अपराधका घटना भएका छन् । तीमध्ये धेरैजसो दिउँसो १२ देखि साँझ ६ बजेसम्म भएका छन् । उक्त समयमा २ हजार ९ सय ४४ वटा अपराधका घटना भएका छन् ।
त्यस्तै हप्ताका सात बारमध्ये बिहीबार सबैभन्दा धेरै अपराध भएको देखिन्छ ।
‘गएको आर्थिक वर्षमा भएका अपराधमध्ये सबैभन्दा धेरै बिहीबार भएका छन्’, कोशी प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ‘बिहीबार भएका अपराधको घटना संख्या वर्षदिनमा १ हजार ५ सय १५ वटा छन् ।’
त्यस्तै १२ महिनामध्ये सबैभन्दा धेरै अपराध असारमा भएको त्रिवर्षीय अपराध तथ्यांकले देखाएको छ । गत वर्ष असारभरीमा १ हजार १३ वटा अपराधका घटना भएका छन् ।
यो त भयो भर्खरै बितेको आर्थिक वर्षको तथ्यांक । त्यसअघिका दुईटा आर्थिक वर्षमा बुधबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म सबैभन्दा धेरै अपराध भएको देखिन्छ ।
दुवै वर्ष असारमा धेरै अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९–८० मा कोशी प्रदेशमा कूल ८ हजार ७ सय २६ वटा अपराधका घटना हुँदा दिउँसो १२ देखि ६ बजेका बीचमा सबैभन्दा धेरै २ हजार ७ सय २६ वटा भएका छन् ।
त्यो वर्षको बुधबार मात्रै १ हजार ३ सय ८५ वटा घटना भएका थिए । त्यसवर्ष असारमा ८७६ वटा अपराधका घटना भएको प्रदेश प्रहरीको अभिलेखमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०८०–८१ मा कोशीमा ९ हजार ३ सय ८७ वटा अपराधका घटना भएका थिए । त्यसमध्ये दिउँसो १२ देखि साँझ ६ बजे सबैभन्दा धेरै ३ हजार ३ सय ३२ वटा घटना भएका छन् ।
त्यो वर्ष पनि हप्ताका सात बारमध्ये बुधबार नै बढी अपराध भएको देखिन्छ । प्रहरीका अनुुसार आर्थिक वर्ष २०८०–८१ को वर्ष दिनका बुधबारहरु गरी कूल १ हजार ४ सय ७५ वटा घटना भएका थिए ।
महिनामध्ये त्यसवर्ष पनि असारमा सबैभन्दा धेरै १ हजार १३ वटा अपराधका घटना भएको प्रहरी तथ्यांकले देखाउँछ ।
पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा दुईटा वर्ष बुधबार र एउटा वर्षमा बिहीबार बढी अपराध भएको देखिन्छ ।
कोशीमा किन बुधबार र बिहीबार नै बढी अपराधका घटना भए त ? प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक पोखरेल यो गहिरो अनुसन्धानको विषय भएको बताउँछन् ।
‘यो रिसर्चकै विषय हो’, एसएसपी पोखरेलले उद्घोषसँग भने ‘तर, अपराधीहरुले कुनै वर्ष एउटा निश्चित बारमा धेरै अपराध गरेका हुन्छन् भने अर्को वर्ष अर्को बार धेरै गरेका हुनसक्छन् ।’
उनले उदाहरण दिए, एउटा आर्थिक वर्षमा बुधबार धेरै अपराधका घटना भएपछि प्रहरीले बुधबार आफूलाई धेरै अलर्ट राख्छ । ‘जब प्रहरी त्यो दिन अलर्ट बस्न थाल्छ, अपराधीहरुले अर्को दिनलाई टार्गेट गर्न सक्छन्’, उनले भने ।
उनले भने जस्तै अघिल्ला दुई आर्थिक वर्षमा बुधबार बढी अपराध भएको कोशीमा पछिल्लो वर्ष बिहीबार बढी भएको तथ्यांकले देखाउँछ ।
‘अर्को वर्ष शुक्रबार वा शनिबार बढी टार्गेट हुनसक्छ’ उनले भने ‘अपराधको ट्रेन्डले त्यस्तै देखाउँछ ।’
एसएसपी पोखरेललाई हामीले थप सोधेका थियौं, बितेका तीन आर्थिक वर्षमा सबैभन्दा धेरै अपराध असारमै भएका छन् । किन ? जवाफमा उनले भने ‘असार भनेको वर्षातको समय हो । खेतीपातीको समय हो । त्यसबेला मानिसको आयआर्जन घट्छ । त्यसबेला जस्तोसुकै गलत बाटोबाट भए पनि पैसा कमाउन खोज्दा अपराध स्वतः बढ्छ ।’ असारमा अन्य महिनाको दाँजोमा आर्थिक गतिविधि कम हुने हुँदा पनि अपराध बढ्ने उनको भनाइ छ ।
पछिल्लो तीन वर्षको अपराध श्रृंखलामा सबैभन्दा धेरै १८ देखि ३५ वर्ष उमेर समूहका पुरुषहरु त्यस्ता घटनामा बढी संलग्न देखिएका छन् ।
‘८५ प्रतिशतभन्दा बढी हिस्सा पुरुषको छ, बाँकी महिलाको छ’, उनले भने ‘जनसंख्या धेरै भएको तराईका जिल्लामा अपराध बढी भएका छन् ।’
मोरङ, सुनसरी, झापा तथा उदयपुरमा अपराधका घटना ज्यादा भएको देखिन्छ ।
प्रदेश प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुव श्रेष्ठले दिएको जानकारी अनुसार प्रहरीले आफूकहाँ दर्ता भएका अपराधको अनुसन्धान गरेर यो तथ्यांक निकालेको हो ।
चोरी, लुटपाटदेखि लागुऔषध ओसारपसार, हत्या, अपहरण, बलात्कार, मानव बेचबिखनसम्मका घटना यसमा समेटिएका छन् ।
‘पछिल्लो समय प्रविधिको विकासले साइबर अपराधहरु पनि बढेको देखिएको छ’, डीएसपी श्रेष्ठले भने ‘अर्काको बैंक अकाउन्ट नै ह्याक गरेर ब्यालेन्स नै थुत्नेसम्मका साइबर अपराध पनि भएको देखिएको छ ।’
View : 432
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved