विराटनगर : जंगली हात्तीले मोरङको बेलबारी नगरपालिका–१० दुईवटा घर भत्काएको छ । हात्तीले घर भत्काउनुका साथै करिब १० बिघामा लगाइएको मकै र केरा खेती नष्ट गरेको छ ।
दुई सातायता पूर्वपश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा भारतबाट आएको जंगली हात्तीको बथानले बस्तीमा प्रवेश गर्दै मानिसहरुलाई समेत आक्रमण गर्दै आएको छ ।
हात्तीको आक्रमणबाट झापामा दुई तथा मोरङ र सुनसरीमा एक–एक गरी चारजनाको मृत्यु भइसकेको छ ।
बुधबार राती बेलबारी–१० स्थित थापाचोक र प्रगति टोलमा स्थानीय विन निरौला, तीर्थ दाहाल र लोकमाया बस्नेतको घर भत्काउनुका साथै मकै र केरा खेतीमा धेरै क्षति पुर्याएको वडाध्यक्ष गंगाबहादुर याख्खाले बताए ।
गाउँ पसेको बथानमा २२ देखि २५ वटा हात्ती थिए। रातको समयमा गाउँ प्रवेश गर्ने हात्तीले घर भत्काएर भित्र रहेको चामल, दाल लगायतका अन्न खाइदिने गरेको र मानिसहरुलाई समेत आक्रमण गर्दै आएको जनाइएको छ ।
हात्तीको आतंक बढेपछि शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रभावित क्षेत्रमा पुगेर धपाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
उनले क्षतिको विवरण जानकारी लिंदै हात्तीलाई रातीको समयमा धपाउन खोज्दा झन आक्रामक हुने भएकाले दिउँसोको समयमै धपाउने व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले तीनवटै सुरक्षा निकायको बैठक बसेर हात्तीबाट भइरहेको क्षति न्यूनीकरणको योजना बनाउन समेत आग्रह गरेका छन् ।
View : 213
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved