Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

दशैंदेखि छैठसम्म कोशी प्रदेशमा आठको हत्या, १० जना बलात्कृत

उद्‌घोष सम्वाददाता
७ मंसिर २०८०, बिहिवार

विराटनगर, ६ मंसिर : दशैंदेखि छठसम्ममा कोशी प्रदेशमा ८ जनाको हत्या भएको छ भने १० वटा बलात्कारका घटना बाहिर आएको छ । प्रहरीले चाडवाड लक्षित सुरक्षा योजना बनाएर हरेक क्षेत्रमा प्रहरी परिचालन गरेको थियो । हत्याका घटना चाडवाड लक्षित नभएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न रहेको आशंकामा १० र बलात्कार आरोपी ९ जनालाई प्रहरीले पक्राउ परेको छ । अन्य आरोपीको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

यस अवधिमा १ सय ७१ जनाले आत्महत्या गरेका छन् । अधिकांशको आत्महत्याको कारण खुलिनसकेको प्रहरीले बताएको छ । कुटपिट र झैझडासँग सम्बन्धित ७४ वटा घटना भएका छन् । कुटपिट एवं झैझगडामा संलग्न ६५, जुवातास खेल्ने ५४, लागूऔषध ओसारपसार गर्ने ९२, दुर्घटना गराउने २ सय ४९, चोरीमा संलग्न ५ र हतियारसहित २ जना पक्राउ परेका छन् ।

जुवातासका ७, लागूऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वको अवधिमा प्रदेशभरिमा भएको ६ सय ५० वटा सवारी दुर्घटनामा ४८ जनाको ज्यान गएको छ । यस अवधिमा विभिन्न घटनामा संलग्न ४ सय ८६ जनालाई पक्राउ गरी कारवाही चलाइएको प्रहरीले जानकारी दिएको छ  ।

विगतमा जस्तो यस वर्ष संगठित अपराध, सामूहिक बलात्कार, लुटपाट, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना भएनन् ।  विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध हुन नपाएको प्रहरीले जनाएको छ । चाडपर्वमा अपराध नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी बढाउँदै प्राविधिको प्रयोगलाई उच्च प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । 

चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि ७ हजार ५ सय १५ जना प्रहरी परिचालन गरिएको थियो । चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रदेशस्तरीय र १४ वटै जिल्लामा ‘कमाण्ड पोस्ट’को स्थापना गरेको थियो । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय समकक्षी सुरक्षा निकायसँग समन्वय गरेर चाडवाड सुरक्षित राख्न निगरानी बढाएको थियो ।

भारतमा खुल्ला रुपमा किनबेच हुने पटकाजन्य विष्फोटक पदार्थ नेपाल ल्याउने क्रममा भारतीय सुरक्षाकर्मीले पनि कडाइ गरेका थिए ।

View : 188

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved