Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोशी प्रदेश सरकारले खोल्यो आफ्नै राजश्व कार्यालय

उद्‌घोष संवाददाता
४ भदौ २०८२, बुधवार

Advertisement

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सुनसरीको इटहरीमा प्रदेश राजश्व कार्यालयको उद्घाटन गरेका छन् । 

चालु आर्थिक वर्ष २०८२–८३ मा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कोशी प्रदेश सरकारले प्रदेशभित्र राजश्व उठाउन सहजीकरण गर्ने निकायको आवश्यकता रहेको भन्दै आफ्नै राजश्व कार्यालय स्थापना गरेको हो ।

‘यो कार्यालयले प्रदेशले उठाउन पाउने राजस्वका क्षेत्रमा सम्बन्धित निकायहरूबीच सहजीकरण गर्नेछ’ उद्घाटनका क्रममा मन्त्री मगरले भने, ‘प्रदेश सरकारहरूमा पहिलो पटक कोशी प्रदेश सरकारको यस्तो कार्यालय स्थापना गरेका छौं, प्रदेशको राजस्वलाई वृद्धि गर्नका लागि यो कार्यालयले काम गर्नेछ ।’

मन्त्री मगरले प्रदेश सरकारले सोचेअनुसारको राजस्व संकलन गर्न नसकिरहेको परिप्रेक्ष्यमा कार्यालयमार्फत सहजीकरण गरिने बताए । उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्न कार्यालयले काम गर्ने दाबी गरे ।

नयाँ कार्यालयलाई प्रदेश मन्त्रिपरिषद्को बैठकबाट २६ वटा कार्यक्षेत्रगत जिम्मेवारी तोकिएको जनाइएको छ । कार्यालयले आफै कर भने उठाउँदैन । कर उठाउने निकायबीच समन्वय, राजश्व संकलनका क्षेत्रमा अनुगमन र कानुनी तथा नीतिगत अध्ययन गरी प्रदेश सरकारलाई करको दर तथा दायराका विषयमा प्रतिवेदनमार्फत सुझाव दिने जनाइएको छ । 

प्रदेश सरकारले स्थापना गरेको उक्त कार्यालयको प्रमुखमा आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक विश्लेषण शाखामा कार्यरत विदुर पौडेल तोकिएका छन् । 

कोशी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१–८२ मा ४ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा त्यसको ९८ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

View : 609

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved