Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पुस्तक व्यवसायी महासंघ अध्यक्षमा मातृका शिवाकोटीलाई कोशीबाट सर्वसम्मत प्रस्ताव

उद्‌घोष संवाददाता
१२ माघ २०८२, सोमवार

विराटनगर, १३ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आगामी माघ २३ र २४ गते काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेशले वर्तमान वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीलाई केन्द्रीय अध्यक्षको उम्मेदवारका रूपमा सर्वसम्मत अघि सार्ने निर्णय गरेको छ ।

सोमबार विराटनगरमा सम्पन्न महासंघको कोशी प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा पहिलो पूर्ण बैठकले शिवाकोटीको नेतृत्वलाई सर्वसम्मत रूपमा अघि बढाउने निर्णय गरेको हो। प्रदेश अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा बसेको बैठकले केन्द्रमा कोशी प्रदेशको बलियो र सर्वसम्मत दाबेदारी रहने उद्घोष गरेको छ ।

सांगठनिक सुदृढीकरण र कल्याणकारी कोषको घोषणा

बैठकले आगामी कार्यकालका लागि ७ बुँदे भावी कार्ययोजना पारित गरेको छ। जस अन्तर्गत व्यवसायीहरूको समस्यामा सारथि बन्ने उद्देश्यले ’हाम्रो सहारा व्यवसायी कल्याणकारी कोष’ स्थापना गर्ने निर्णय गरिएको छ। सांगठनिक सुदृढीकरण र महाधिवेशन तयारीका लागि वरिष्ठ उपाध्यक्ष घनश्याम पोखरेलको सक्रियतामा सचिवालय समेत गठन गरिएको छ ।

केन्द्रीय महाधिवेशनका लागि कार्यविभाजन

महासङ्घको केन्द्रीय सदस्य लगायतका पदहरूमा दिवाकर भट्टराई, टंकमणि भट्टराई, भीम घिमिरे, अनुप निरौला र सुरेश चौलागाईंलाई व्यवस्थापन गरेर लैजाने निर्णय भएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

प्रतिनिधि व्यवस्थापनमा उपाध्यक्ष गौतम शर्मा, अनुगमन, अनुसन्धान तथा जिल्ला समन्वयमा जीवन नेपाल (प्रदेश निवर्तमान अध्यक्ष), आर्थिक व्यवस्थापनमा दिनेश पन्त (कोषाध्यक्ष), प्रचार–प्रसार तथा यातायातमा विनोद सापकोटा (झापा जिल्ला अध्यक्ष) लाई संयोजक तोकेको छ ।

सञ्चारकर्मी सम्मानित

पदस्थापन समारोहको अवसरमा व्यावसायिक हकहितको पक्षमा कलम चलाएको भन्दै उद्‌घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोखरेल र समाचार सम्पादक विक्रम निरौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

१४ जिल्लाकै ऐक्यबद्धता

कार्यक्रममा केन्द्रीय सदस्य राजमणि न्यौपाने, पूर्व केन्द्रीय सदस्यहरू गंगाधर मैनाली र मिलन लम्सालसहित कोशी प्रदेशका १४ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

मोरङ जिल्ला अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मातृका शिवाकोटीलाई केन्द्रीय अध्यक्षका रूपमा विजयी गराउन कोशीका सबै जिल्लाहरू एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

View : 336

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved