विराटनगर : कोशी प्रदेश सभामा बिहीबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सदस्यहरुसँग प्रश्नोत्तर गर्ने भएका छन् । प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को परिच्छेद ९ को नियम ४० मा प्रदेश सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा सांसदहरुले निर्धारित समयमा प्रश्न सोध्न सक्ने व्यवस्था छ ।
नियमावलीको सोही व्यवस्था अनुसार सांसदहरुले प्रश्न सोध्ने र नियम ४१ बमोजिमको व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश सभामा जवाफ दिने जनाइएको छ ।
सांसदहरुले प्रश्नहरु लिखित रुपमा प्रदेश सभाका सचिवमार्फत सरकारलाई पेश गर्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीको व्यवस्थाको पहिलो अभ्यास भएकोले प्रदेश सांसदहरुले मौखिक रुपमा जवाफ दिने किसिमका प्रश्नहरु मात्रै सोध्ने तयारी गरेका छन् ।
नियमावलीमा प्रश्नहरु मौखिक उत्तर दिने र लिखित उत्तर दिने गरी दुई किसिमका उत्तर हुने उल्लेख छ । प्रश्नकर्ताले कुनै अभिलेख, तथ्याङ्क आदि उल्लेख गरी जवाफ मागेमा लिखित रुपमा उत्तर दिनुपर्ने जनाइएको छ ।
बिहीबार मुख्यमन्त्री कार्की समक्ष आठ जना प्रदेश सभा सदस्यहरुले प्रश्नको सूचना गरेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनले नियमावली बमोजिम मुल प्रश्नसँग जोडिएको जवाफमा प्रश्न राख्ने सम्बन्धि प्रदेश सभा सदस्यले कुनै एक विषयमा पूरक प्रश्नसमेत सोध्न सक्ने बताए ।
View : 162
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved