विराटनगर । नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापासहित कारवाहीमा परेका तीन जना र कारवाही गर्ने मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्कीसँग प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।
एमाले महानगर कमिटीका अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपाल र विराटनगर–४ नम्बर वडा कमिटी अध्यक्ष लालमणि भट्टराई र मोरङ अध्यक्ष कार्कीसँग प्रदेशले लिखित प्रष्टीकरण लिएको हो । प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी नेतृत्वको एमाले प्रदेशको कार्यदलले चार जनासँग सोधेको स्पष्टीकरणमा सबै जनाले लिखित जवाफ बुझाइसकेका छन् ।
‘मेरो नेतृत्वमा रहेको कार्यदलले चारै जनालाई केही प्रश्नहरुसहितको स्पष्टीकरण सोधेको थियो’, कार्यदल संयोजक भण्डारीले मंगलबार भने ‘उहाँहरु सबैले जवाफ पेश गरिसक्नु भएको छ । ती जवाफहरुमाथि हामी अध्ययन गर्दैछौं ।’
विराटनगर–३ मा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अर्कै उम्मेद्वार उठाएको, पार्टीका उम्मेद्वार हराउन गतिविधि गरेको भन्दै थापासहितका तीन जनामाथि जिल्लाले कारवाही घोषणा गरेको थियो । विराटनगर ३ नम्बर वडा कमिटी अध्यक्ष लालमणि भट्टराईले खानेपानी अध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेले भने रामबहादुर घिमिरेलाई पार्टीको आधिकारिक उम्मेदवार बताउँदै आएको थियो ।
घिमिरेलाई हराउन भूमिका गरेको आरोप लगाउदै जिल्ला कमिटीका अध्यक्ष बाबुराम कार्कीले महानगर अध्यक्ष थापासहितका तीन जनालाई कारवाही गरेका थिए ।
यो घटनापछि एमाले कोशी प्रदेश कमिटीले कारवाही प्रक्रियाबारे छानबिन गर्न सचिव राजकुमार भण्डारी नेतृत्वमा देवान राई र होम थापा सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले यसअघि नै थापासहितका तीन जनासँग बयान लिइसकेको छ । भदौ १ गते कार्यदलले निष्कर्ष प्रतिवेदन दिने तयारी गरेको छ । ‘भदौ १ गते हामी निष्कर्ष दिनेछौं’, भण्डारीले भने ‘त्यसअघि हामी उहाँहरु सबैको जवाफमाथि अध्ययन गर्नेछौं ।’
प्रदेशको कार्यदलले चारै जनालाई फरक–फरक प्रश्नसहित लिखित जवाफ लिएको भण्डारीले जानकारी दिए । उनका अनुसार कारवाहीमा परेका अध्यक्ष थापालाई विभिन्न सात वटा प्रश्नहरु सोधिएको छ ।
जसमा खानेपानी निर्वाचनमा पार्टी निर्णय कार्यान्वयन किन नगराएको, कार्यान्वयनमा बाधा पुर्याउनेहरुमाथि किन कारवाही नगरेको, तपाईंलाई कारवाही नगर्नुपर्ने कारण के–के हुन् भन्ने लगायतका प्रश्न उल्लेख छन् ।
‘हामीले यी प्रश्नहरु सोधेका थियौं, थापाले आफ्नै साथी हुन् भनेर सहयोग गरेको हो गल्ती पो गरियो कि क्या हो भनेर जवाफ दिनुभएको छ’, भण्डारीले भने ।
त्यस्तै जिल्ला अध्यक्ष कार्कीलाई सागर थापासहितका तीन जनामाथि किन कारवाही गरिएको हो, कुन तथ्यका आधारमा कारवाही गरेको हो भनेर सोधिएको छ । ‘कार्कीले पनि जवाफ पठाइसक्नुभएको छ ’, भण्डारीले भने ‘उहाँको जवाफमा सागर थापाहरुले बेइमानी गरेकै हो, त्यसैले कारवाही गरियो भन्ने छ । विस्तृत रुपमा पढिसकेको छैन ।’
जिल्ला अध्यक्ष कार्कीले पनि उद्घोषसँगको कुराकानीका क्रममा प्रदेशको कार्यदलले आफूसँग घटनाक्रमहरुको विवरण र तथ्य तथ्यांक मागेको बताए ।
‘उहाँहरुले मसँग जिल्लाले गरेको कारवाहीको तथ्य तथ्याङ्कहरु माग्नुभएको रहेछ’, कार्कीले भने ‘हामी बुझाउने क्रममा छौं ।’ उनले सागर थापासहितका तीन जनामाथि गरिएको कारवाही फिर्ता नहुने पनि बताए ।
कारवाही भोगेकाहरु मध्येका खानेपानीमा उम्मेदवारसमेत बनेका भट्टराईले भने जिल्लाले सामान्य स्पष्टीकरणको मौकासमेत नदिइ एकैपटक कारवाही गरेका कारण त्रुटी सच्चिनेमा आशावादी रहेको बताए ।
‘पहिलो कुरा खानेपानी भनेको उपभोक्ताहरुले आफ्नो समिति छान्ने ठाउँ हो, जहाँ २७ वर्षदेखि एकै व्यक्ति अध्यक्ष थिए । उपभोक्ताले परिवर्तन खोजेर म अघि सरेको थिएँ’, भट्टराईले भने ‘पार्टीले आधिकारिक रुपमा कसैलाई अघि सारेको पनि थिएन ।’
कारवाहीका क्रममा सामान्य विधिसमेत पालना नभएको आरोप लगाउँदै भट्टराईले भने ‘कारवाही नै गर्दा पनि ध्यानाकर्षण हुन्छ होला, प्रष्टीकरणको मौका हुन्छ होला । एकैपटक कारवाहीको पत्र आएकाले यो विधिसम्मत छैन भन्ने हो । प्रदेशले त्रुटी सच्याउनेमा आशावादी छु ।’
अध्यक्ष सागर थापा पक्षका एमाले कार्यकर्ताहरुले पनि जिल्ला अध्यक्ष कार्कीले पदको सपथसमेत नलिई पहिलो निर्णयमै कारवाही गरेको र कारवाही घोषणा गर्नेहरुलाई मोरङमा पद दिएर पुरस्कृत गरिएको भन्दै असन्तोष जनाउँदै आएको छ ।
View : 215
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved