Biratnagar, Morang, Nepal
२५ चैत २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

डिपोर्टमा परेका नयाँ शरणार्थीबारे नेपाल अझै अनिर्णित

उद्‌घोष सम्वाददाता
२५ चैत २०८१, सोमवार

विराटनगर । अमेरिकाबाट डिपोर्ट भएर भूटान हुँदै नेपाल आइ पुगेर पक्राउ परेका चार जना भूटानी शरणार्थी युवाहरूलाई अब के गर्ने भन्नेबारे अध्यागमन विभाग अझै निर्णयमा पुग्न सकेको छैन । 

अमेरिकाले आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै निकाला गरेका १० मध्ये ४ जना शरणार्थी युवा अहिले काकरभिट्टा प्रहरीको नियन्त्रणमा छन् । 

चार जनामध्ये ३ युवाहरू चैत १६ गते शनिबार बेलडागी शरणार्थी शिविरबाट पक्राउ परेका थिए । आशीष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङ पक्राउ परेको तीन दिनपछि चैत १९ मा अशोक गुरुङ पक्राउ परेका थिए । उनीहरूमाथि अध्यागमन कार्यालयले ‘अनुसन्धान भइरहेको’ जनाएको छ । 

‘उनीहरू कसरी नेपाल आइपुगे भन्नेबारे अनुसन्धान लगभग अन्तिम चरणमा छ’, अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराईले भने ‘अब हामी प्रतिवेदन विभागमा बुझाउने तयारीमा छौं । त्यसपछि निर्णय विभागले नै गर्छ ।’ सरकारी कार्यालयका प्रमुखले अनुसन्धान भइरहेको बताए पनि पक्राउ परेका युवाका परिवार भने अब उनीहरूबारे के निर्णय होला भन्ने चिन्ताले सताइएका छन् । 

‘मेरो छोरो भूटानमा जन्मियो, नेपालमा हुर्कियो, प्रक्रिया पूरा गरेर अमेरिका गएको थियो’, परिवार सबै अमेरिका गएपछि बेलडागी शिविरमा १० वर्षदेखि एक्लै बसिरहेका आशीषका बुबा कुमार सुवेदीले भने ‘अमेरिकाले निकालिदियो, भूटानले पनि निकाल्यो, नेपालले थुन्यो । अब उसको भविष्य के हुन्छ ?’ डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि उनले आप्रवासीहरूमाथि कडा नीति लिएका छन् । 

विभिन्न देशबाट आएका आप्रवासीलाई लगातार डिपोर्ट गरिरहेका छन् । केही नेपालीहरू पनि डिपोर्ट भएर आइसकेका छन्न् । त्यही सिलसिलामा अमेरिकी सरकारले १० जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेर भुटान फिर्ता पठाएको थियो । 

उनीहरूलाई अमेरिकाबाट भारत हुँदै भुटान लगिएको हो । ट्रम्प सरकारले ती १० जना शरणार्थीलाई उनीहरूको वास्तविक मुलुक भूटान नै फिर्ता पठाएको भए पनि त्यहा“को सरकारले अपनाउन मानेन । 

आजभन्दा ३५ वर्षअघि भूटान सरकारले जसरी नेपाली–भाषी भुटानी नागरिकहरूलाई अनागरिक बनाएर लखेटेको थियो, यसपालि पनि अमेरिकाबाट डिपोर्ट भएर आइपुगेका १० जनालाई त्यसरी नै लखेट्यो ।

अघिल्लो शुक्रबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई खानपिन गराएर भारतसँगको सीमावर्ती नाका फुन्सोलिङ ल्याएर छाडिएको थियो । त्यहाँबाट उनीहरू पानीट्यांकी नाका हुँदै नेपाल छिरे । यसरी छिरेकामध्ये ३ जना भुटानी शरणार्र्थी चैत १५ मा र थप एक जना १९ गते पक्राउ परेका थिए । 

अहिले प्रहरी नियन्त्रणमा रहेका युवाहरूमध्ये आशीषबाहेक सबैका परिवार अमेरिका नै छन् । 

‘यहाँ उनीहरूको आफन्त भन्नु नै मै मात्रै हो,’ कुमारले भने ‘अब के हुन्छ कसो हुन्छ भन्ने चिन्ताले उनीहरू पनि सताइएका छन् । आफ्नो पनि हालत उही छ ।’ 

९ दिनयता काकरभिट्टा प्रहरीको नियन्त्रणमा रहेका यी शरणार्थी युवाहरूबारे आफूलाई धेरै जानकारी नहुने प्रहरी बताउँछ । 

‘अध्यागमनले ल्याएर राखेको हो, हामीले राखिदिएका मात्रै हौं,’, काकरभिट्टा प्रहरी प्रमुख डीएसपी राजन लामा भन्छन् ‘उहाँहरूबारे सबै कुरा अध्यागमनले जान्दछ ।’ 

सरकारी कार्यालयहरूको यस्तो जवाफले आशीषका बुबा कुमारको चिन्ता थप बढाइदिएको छ । अहिले थुनामा रहेका अन्य तीन जनाको परिवार सबै अमेरिकामा छन् । कुमारका पनि सबै उतै थिए । 

छोरा डिपोर्टमा परेर आएपछि उनको दैनिकी प्रहरी र अध्यागमन धाउँदैमा बितिरहेको छ । सुवेदी परिवार सन् १९९३ मा भूटानबाट लखेटिएको थियो । 

अहिले दोस्रोपटक सुवेदी परिवारकै सदस्य आशीष फेरि भूटानबाट लखेटिएर नेपाल आएका थिए । तर, यहाँ पनि पक्राउ परेपछि उनीहरू अब कता जान्छन्, उनीहरूबारे के निर्णय होला भन्ने चिन्ताले परिवारजन पिरोलिएको छ ।

View : 69

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved