लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी महाधिवेशन
तस्वीरमा क्रमशः लीला ढुंगेल, रमेश खत्री, लीलाप्रसाद चिमरिया र बबरजंग थापा ।
विराटनगर । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी को शनिबार विराटनगरमा सम्पन्न तेस्रो महाधिवेशनबाट विराटनगरका लीला ढुंगेल अन्तर्राष्ट्रिय निर्देशक(इन्टरनेसनल डाइरेक्टर इण्डोर्सी) निर्वाचित भएका छन् । ढुंगेल १२८ मत प्राप्त गरी सन् २०२५-२६ का लागि इन्टरनेसनल डाइरेक्टर निर्वाचित भएका हुन् । उनी विराटनगरकै रेवतबहादुर कार्कीसँग प्रतिष्पर्धा गरी विजयी भएका हुन् । कार्कीले ६१ मत प्राप्त गरेका छन् ।
सोही महाधिवेशनबाट सन् २०२५-२६ का लागि दमकका बबरजंग थापा डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । उनी १८८ ‘यस भोट’ सहित निर्वाचित भएका हुन् । उनको विपक्षमा चार ‘नो भोट’ खसेको थियो । लायन्स क्लबको प्रचलनअनुसार डिस्ट्रिक्ट गर्भनर र फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुन ‘यस वा नो भोट’ को मात्र प्रावधान हुन्छ । यस्तै सोही महाधिवेशनबाट झापा सुरुङ्गाका लीलाप्रसाद चिमरिया फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर निर्वाचित भएका छन् ।
चिमरिया १८७ यस भोट प्राप्त गरी निर्वाचित भएका हुन् विराटनगरका रमेश खत्री सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर निर्वाचित भएका छन् । खत्री विराटनगरकै अजिता बराल घिमिरेलाई झण्डै दोब्बर मतले पराजित गर्दै सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर भएका हुन् । खत्रीले १२५ र घिमिरेले ६६ मत प्राप्त गरेका छन् ।
यसैबीच शनिबार राति अबेर सम्पन्न निर्वाचनबाट विजयी भएकाहरूलाई लायन्स क्लबका पूर्व इन्टरनेसन तथा डिस्ट्रिक्ट गभर्नरहरू भीम घिमिरे, राजन खत्री, धीरज गुरुङ, विजयहरि शर्मालगायतले बधाई दिएका छन् ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का डिस्ट्रिक्ट गभर्नर विकास अधिकारीको अध्यक्षतामा भएको तेस्रो महाधिवेशनमा विभिन्न क्लब गरी ९५० भन्दा बढी लायन्स प्रतिनिधिहरू सहभागी थिए । तीमध्ये १९२ जनाले क्लबको प्रतिनिधित्व गर्दै मताधिकार पाएका थिए ।
View : 241
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved