Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

शेखरले भने– ‘संसदमा विपक्ष कतै देखेको छु भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई देखेको छु’

सरकार गिराउन र शेरबहादुरजी विरुद्ध जान लाग्यो भनेर धेरै कुरा आउने गरेको भन्दै उनले निकटका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे । पहिलो केपी ओली विपक्षमा हुँदा पनि आफु उहाँको घरमै जाने गरेको बताए ।
उद्‌घोष संवाददाता
१७ साउन २०८२, शनिवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले संसदमा विपक्षी दलको भूमिकामा माओवादीभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रुपमा देखिएको बताएका छन् । 

पछिल्लो दिनमा गरेका आफुले गरेका राजनीतिक भेटघाट र त्यहाँ भएका कुराकानीको सन्दर्भबारे शनिबार विराटनगर–४ मा आयोजित एउटा कार्यक्रममा स्पष्ट पार्ने क्रममा नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई त ‘सत्तापक्षकै जस्तो हुनुभयो’ भनेर भनेको बताए ।

‘मैले प्रचण्डजीको भेटमा तपाईँ सत्तापक्षको हो कि विपक्षको भनेँ संसदमा, उहाँले आफू विपक्षमा हुँ भन्नुभयो’ उनले भने, ‘तर मैले तपाईँहरू सत्तापक्षजस्तो हुनुभयो, अहिले विपक्षी त रास्वपा मात्रै भएजस्तो देखियो उनीहरू भिडिरहेका छन् सत्तापक्षसँग, तपाईँहरू (माओवादी) त हामीसँगै बसेर छलफलमा बसेपछि कसरी विपक्ष हुनुभयो भने ।’

कोइरालाले एक महिनायता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि अहिले एमालेको राजनीतिमा फर्किने घोषणा गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट भएका कुराकानी सार्वजनिक गरेका छन् ।

उनले कांग्रेसभित्र गठबन्धन बाहेकका दलका नेताहरूसँग दल नेताले मात्रै भेट्नुपर्ने वा अरुले भेट्नै नहुने जस्तो गरी बहस हुने गरेको भन्दै गुनासो गरेका छन् । त्यस्तो काम पार्टी सभापतिले नै गरेको गरेको पनि बताए ।

‘मैले सभापति जीलाई पटक–पटक के भने भनें तपाँई नेपाली कांग्रेसको मात्रै नेता होइन, देशैको नेता हो । तपाँई जत्तिको सिनियर राजनीतिज्ञ कोही पनि छैन । तपाई नै बोलाएर भेट्नुहोस् । चियै पियाएर पठाउनुहोस् ।’ कोइरालाले भने, ‘वहाँ के भन्नुहुन्छ, हैन हैन हुँदैन अहिले ‘कोलिएशन’ एमालेसँग छ एमालेसित मात्रै भेट्नु पर्छ भन्नुहुन्छ । जुनबेला माओवादीसित थियो, माओवादीलाई मात्रै भेट्नुपर्छ । तर म त्यो मान्यता राख्दिन ।’

उनले त्यै भएर मैले प्रचण्ड र पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भेटेको प्रष्टिकरण दिए । उनले माओवादीसित भेट्दा आफुले धेरै त्यस्तो केही नगरेको जिकिर गरे । 

सरकार गिराउन र शेरबहादुरजी विरुद्ध जान लाग्यो भनेर धेरै कुरा आउने गरेको भन्दै उनले निकटका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे । पहिलो केपी ओली विपक्षमा हुँदा पनि आफु उहाँको घरमै जाने गरेको बताए ।

त्यस्तो केही होइन, तपाईँहरु धेरै सामाजिक सञ्जालमा नहेर्नुस्, त्यसमा धेरै गलत कुरा लेखेको हुन्छ, बरु चित्त बुझेन भने फोन गरेर सोधे हुन्छ’ उनले भने, ‘आजकल त ओलीजी र विद्याजीको फाइटै परेको देखाउँछ । आर्टिफिसियल इन्टेलिजेन्सले त्यस्तो कुरा बनाउँछ ।’

कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भण्डारीले विराटनगरको प्रसंग निकालेर केदार कार्की र नागेश कोइरालाको कुरा सोधेको सुनाए ।

अर्को प्रसंगमा, कोइरालाले कांग्रेसको प्रतिष्पर्धा अरु दलहरूसँग भएकोले चुनावमा पनि पार्टीको आन्तरिक प्रतिष्पर्धा नै सम्झिएर कांग्रेसका उम्मेदवारलाई भोटै नहाल्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।

View : 670

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved