Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सप्तकोशी बोर्डिङको १७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

उद्‌घोष संवाददाता
१७ फागुन २०८२, आइतवार

विराटनगर ।  विराटनगर–८, भगवतीचोक स्थित सप्तकोशी बोर्डिङ स्कुलले आफ्नो १७ औं वार्षिकोत्सव तथा अभिभावक केन्द्रित साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन, शैक्षिक समीक्षा र अभिभावक कार्यशाला गोष्ठी जस्ता विविध गतिविधिहरू आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं शिक्षा विकास समन्वय इकाई, मोरङका प्रमुख शालीग्राम दाहालले सप्तकोशी बोर्डिङ स्कुल आकारमा सानो देखिए तापनि गुणस्तरीय शिक्षाको क्षेत्रमा निकै अब्बल रहेको बताए ।

महानगरभित्रका विद्यालयहरूमध्ये सो विद्यालयले शैक्षिक स्तर सुधार्न महरूवपूर्ण योगदान पु-याएको चर्चा गर्दै उनले  विद्यालयले पछिल्लो समय आफूलाई अन्तर्राष्ट्रिय स्तरमा समेत उभ्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी प्याब्सन विराटनगर महानगर समितिका अध्यक्ष अर्जुन श्रेष्ठले सप्तकोशीले आफ्नो नाम अनुसार नै महान कार्य गर्दै आएको उल्लेख गरे । उनले विद्यालयका प्राचार्य युवराज अधिकारीको लामो अनुभवले विद्यालयलाई खारिएको र महानगरका सदस्य विद्यालयहरूमध्ये उत्कृष्ट बनाउन सफल भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले बालबालिकाको अतिरिक्त क्रियाकलाप र शैक्षिक विकासमा विद्यालयको भूमिका अतुलनीय रहेको बताए ।

 

दुई दिनसम्म चलेको सो उत्सवको पहिलो दिन विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । पहिलो दिनको सम्पूर्ण कार्यक्रम विद्यार्थी स्वयंले नै सञ्चालन गरेर आफ्नो नेतृत्व क्षमताको प्रदर्शन गरेको प्राचार्य युवराज अधिकारीले जानकारी दिए ।

कार्यक्रमको दोस्रो दिन आइतबार अभिभावकहरूका लागि विशेष कार्यशाला गोष्ठी आयोजना गरिएको थियो, जसले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

१३ सदस्यीय अभिभावक समिति गठन

सप्तकोशी सेकेण्डरी बोर्डिङ स्कुलको १७ औं वार्षिकोत्सवको अवसरमा अभिभावकको भेलाले  संगीता चौधरीको अध्यक्षतामा १३ सदस्यीय अभिभावक  समितिसमेत गठन गरिएको छ । 

समितिको सल्लाहकारत्रयमा दीक्षा खड्का, विन्दु यादव र राजेश्वरी साह छन् भने सदस्य सचिवमा शिक्षक गोपाल खवास छन् ।

समितिको सदस्यहरूमा यशोदा आलेमगर, एलिना राउत कार्की, श्री तिवारी, नमीता रराजवंशी, मुनिकुमारी मेहता, समिरा दाहाल, मनिषा मण्डल, कला चौहान र विष्णु कोइराला छन् ।

समितिको संरक्षकमा विद्यालयका प्राचार्य युवराज अधिकारी छन् । 

कार्यक्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान मोरङका उपाध्यक्ष माधव अधिकारीले सप्तकोशीले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा दिदै  अघि बढेको भन्दै विद्यालयको प्रगतिको कामना गरे  ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved